अव्यवस्थित रुपमा घडेरी खार्दा सडक अवरुद्ध
अव्यवस्थित रुपमा घडेरी खार्दा सडक अवरुद्ध
अव्यवस्थित रुपमा घडेरी खार्दा सिरानचोक गाउँपालिका–८ जौवारीको सिमलबोट पुछारगाउँ जाने सडक पुरिएको छ ।
स्थानीय नविन धितालको घडेरी खार्दा खसेको ढुङ्गामाटोले सडक पुरिएको हो । उक्त सडकखण्डमा यातायातका साधन चल्न नसकेको स्थानीय लेखनाथ ढकालले बताए ।स्थानीयलाइ आउजाउमा समेत समस्या भएको उनको गुनासो छ । ‘पहिले हिड्ने मुल गोरेटो बाटो पनि यही हो, पछि यही बाटोमा सडक आयो,’ उनले भने, ‘तर अहिले सडक सबै पुरिएर गाडी को त कुरै छाडौ, हिड्न सक्ने अवस्था पनि छैन ।’ करिव १५ घरधुरी रहेको सो गाउँमा अहिले यातायात पुग्न सक्दैन । ‘युवाहरु जसोतसो माटो पन्छाएर हिड्ने गरेपनि वृद्धवृद्धालाई समस्या छ, पानी परेको बेला माथिबाट माटो वगिरहन्छ, फेरी चिप्लो बाटो लडिन्छ की भन्ने डर,’ ढकालले दुखेसो पोखे । गोपालडाँडा देखि भच्चेक जाने सडक कालोपत्रेको कामका कारण पनि सडक पुरिएको उनको भनाइ छ । सडक अवरुद्ध भएसँगै पसलको सामान ढुवानी गर्न निकै समस्या भएको अमिता गुरुङले गुनासो गरिन् ।
उनको गाउँमा किराना पसल छ । ‘पहिले घरमै गाडीले सामान ल्याइदिन्थ्यो तर अहिले सडक पुरिदिए, चनौटेबाट सामान बोकेर ल्याउनुपर्छ,’ उनले भनिन् । घाँसदाउरा गर्न र बजार आउजाउमा समेत समस्या भएको उनको गुनासो छ । मान्छे बिरामी भएमा एम्वुलेन्स आउन सक्ने अवस्था समेत नरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । समस्या समाधानका लागी प्रहरी चौकीमा निवदेन दिन खोज्दा लिन नमानेको स्थानीयले गुनासो गरे । वडा कार्यालयलाइ समेत जानकारी गराएको उनीहरुले बताएका छन् ।
गोपालडाडा भच्चेक सडक निर्माण कम्पनीका ठेकेदार र स्थानीय नविन धिताललाई माटो पन्छाएर पुरिएको सडक खुलाइदिन आग्रह गरेपनि वेवास्ता गरेको स्थानीयले बताएका छन् । जग्गाधनी निवन धितालले सडक कालोपत्रेका लागी अलकत्रा राख्न ठेकेदार आफैले जग्गा खारिदिएको बताएका छन् । ‘भच्चेक जाने सडक कालोपत्रेका लागी मेरो जग्गामा अलकत्रा पकाउने भनेर उहाहरु आफैले मेरो जग्गा खारिदिनुभएको हो,’ उनले भने, ‘तल माटो खसेर पुरिएको बाटो खुलाइदिन मैले ठेकेदारलाइ पनि आग्रह गरे तर वास्ता गर्नुभएको छैन ।’
सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदार उत्तम भट्टले आफूहरुले धितालको जग्गा नखारेको बताउछन् । ‘हामीले उहाँको जग्गामा अलकत्रा पकाउने भनेका पनि छैनौ, अपरेटरलाइ भनेर उहाँ आफैले जग्गा खार्न लगाउनु भएछ, त्यसकै कारणले तलको बाटो पुरिएको हो, उहा आफैले त्यो पन्छाउनुपर्छ,’ उनले भने ।