माघेसंक्रान्तिका दिन बोर्लाङमा मास महोत्सव
माघेसंक्रान्तिका दिन बोर्लाङमा मास महोत्सव
भीमसेन थापा गाउँपालिका बोर्लाङका किसानले फलाएका कृषि उपज बिक्री गर्न पहिलो हाट बजार तथा मास महोत्सव आयोजना गरिएको छ ।
यस वर्ष गाउँमा फलेका मास, भटमासलगायातका कृषि उपज बिक्री गर्न माघेसंक्रान्तिको दिनमा मास महोत्सव आयोजना गरिएको हो । स्थानीय उद्यमशील साना किसान कृषि सहकारी संस्थाले भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ को सहकार्यमा महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा भीमसेन गाउँपालिका ७ र ८ का किसानले फलाएको मास, भटमासलगायतका कृषि उपज र मासका परिकार बिक्रीमा राखिने आयोजकले जनाएको छ ।
महोत्सवमा मासको रोटी, बारा, मस्यौरा, फुरौला, मासको समोसा र मःम पनि राखिने सहकारी संस्थाका अध्यक्ष भरत ढकालले जानकारी दिए । महोत्सवमा व्यापारी र सर्वसाधारणले किसानबाट मास, भटमास लगायतका गेडागुडी खरिद गर्न सक्नेछन् ।
महोत्सवमा ४० मुरीसम्म मास बिक्री गर्ने लक्ष्य राखिएको ढकालले बताए ।
मास महोत्सवपछि भीमसेन थापा गाउँपालिका–८ महादेवटारमा नियमित हाटबजार सञ्चालन गर्ने उनले जानकारी दिए ।