यस बर्ष धार्चेका सबै वडामा विद्युतको केन्द्रिय प्रसारण लाइन
यस बर्ष धार्चेका सबै वडामा विद्युतको केन्द्रिय प्रसारण लाइन
केशव गुरुङ
चालु आर्थिक वर्ष धार्चे गाउँपालिकाको सवै वडामा केन्द्रिय विद्युत प्रसारण लाइन पुग्ने भएको छ ।
तिव्र गतिमा काम भइरहेको नेपाल विद्युत प्राधिकरण आरुघाट वितरण केन्द्रका प्रमुख निरज पौडेलले बताए । ‘टेन्डर प्रक्रिया भइसक्यो,’ उनले भने, ‘अव छिटै सम्झौता भएर काम अघि बढ्छ ।’
उत्तरी गोरखामा केन्द्रिय प्रसारण लाइन विस्तारका लागि गण्डकी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट ६ करोड विनियोजना भएको उनले बताए । केन्द्रले ३ करोड ५० लाख रकम दिएको उनको भनाइ छ । हाल धार्चे गाउँपालिकाको माछाखोला सम्म लाइन तान्ने काम भइरहेको पौडेलले जानकारी दिए ।
‘यहि बैशाख सम्म माछोखोलासम्म केन्द्रिय प्रसारण लाइन पु¥याउने लक्ष्य राखेका छौ, त्यस पश्चात माथिल्लो भेगमा विस्तार गर्दै लैजाने योजना छ,’ उनले भने । आरुघाट वितरण केन्द्रले धार्चे गाउँपालिकाको गुम्दा, लापु, उहिया,काशीगाउँ र केरौजामा सम्म केन्द्रिय विद्युत पु¥याउने बताइएको छ ।
दुई बर्ष भित्र चुमनुव्री गाउँपालिका सम्म केन्द्रिय विद्युत प्रसारण लाइन पु¥याउने लक्ष्य रहेको पौडेलले बताए ।
भौगोलिक बिकटताका कारण चुमनुव्री गाउँपालिका तत्काल केन्द्रिय लाइन जोडन असम्भव रहेको उनको भनाइ छ ।
बारपाक देखि लाप्राक सम्म केन्द्रिय प्रसारण लाइन जोड्न प्रक्रिया शुरु भइसकेको छ । उक्त काम नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले गर्नेछ । सर्भेको काम भइरहेको कार्यालय प्रमुख माधव न्यौपानेले बताए ।
उक्त कामका लागी एक करोड ९० लाख रकम विनियोजना भएको उनले जानकारी दिए । मनिला निर्माण सेवाले जिम्मा पाएको उक्त काम चालु आव भित्र सक्नुपर्ने छ । हाल धार्चे गाउँपालिका–७ लापुको लिदिङसम्म केन्द्रिय प्रसारण लाइन पुगिसकेको छ ।
त्यस्तै अजिरकोटको खरिवोट, हंसपुर, मुच्चोक, घ्याच्चोक र बारपाक सुलिकोटको बारपाक र सौरपानीमा पनि चालु आवमा केन्द्रिय लाइन पुग्ने बताइएको छ।