बारपाक पुरानो वस्तीको भित्री बाटोमा ढुङ्गा छापिने
बारपाक पुरानो वस्तीको भित्री बाटोमा ढुङ्गा छापिने
भूकम्पको केन्द्रविन्दु बारपाकको पुरानो वस्ती भित्रको बाटो पुननिर्माण हुने भएको छ ।
केन्द्रिय आयोजना कार्यान्वयन इकाइको एकीकृत वस्ती बिकास कार्यक्रम अन्तरगत बाटोमाथि ढुङ्गा बिछ्याउन लागिएको हो ।बारपाक क्षेत्रको बाटो र पर्यटकिय गाउँ संरक्षणका लागी भित्रि बाटो पुननिर्माण गर्न लागिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवनले जनाएको छ । ‘यो बर्ष एक करोड ५० लाख रकम आएको छ,’ कार्यालय प्रमुख सुनिता श्रेष्ठले भनिन्, ‘स्थानीय र जनप्रतिनिधी बिच छलफल भइसक्यो, त्यो बाटोमाथि ढुङ्गा बिछ्याउने सहमति भएको छ ।’
ढुङ्गा कहाँबाट ल्याउने भन्ने बिषयमा स्थानीय तहसँग समन्वय गर्ने उनले बताइन् । ‘स्टमेटको ड्राफ्ट तयार भइसकेको छ, अव फाइनल हुन बाँकी छ, त्यसपछि काम शुरु गर्छाै,’ श्रेष्ठले बताइन् ।
वस्तीमा ढल निर्माण पनि हुने भएको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङले ढल निर्माण गर्न लागेको हो । ‘सर्भे भइसकेको छ,’ कार्यालयका इन्जिनियर महेश महतोले भने, ‘आज हामी गएर स्थानीय र जनप्रतिनिधीसँग छलफल गरेर आयौ ।’ छलफलको क्रममा घरबाट निस्कने फोहोर पानी प्रशोधन गर्नका लागी ठाउँ उपलब्ध गराइदिन जनप्रतिनिधीसँग आग्रह गरिएको उनले बताए ।
‘घरबाट निस्केको फोहोर पानीलाइ एकै ठाउँमा जम्मा गरेर त्यसलाइ प्रशोधन गरी सफा बनाएर खोलामा पठाउने हो, त्यही प्रशोधन गर्नका लागी ठाउँ उपलब्ध गराउन भनेका थियौ, उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ,’ उनले भने ।
ढल निर्माणका लागी यस बर्ष ५० लाख रकम विनियोजन भएको उनले बताए । खानेपानीको पाइप बाटोमै बिछ्याएका कारण केही समस्या हुन सक्ने उनको भनाइ छ । समस्या समाधानका लागी पालिकाले सहजिकरण गर्ने अध्यक्ष बिष्णु भट्टले जानकारी दिए ।