गोरखा दरवार पुनर्निर्माणमा ढिलाई गर्ने ठेकेदारसँग बिभागले माग्यो स्पष्टीकरण
गोरखा दरवार पुनर्निर्माणमा ढिलाई गर्ने ठेकेदारसँग बिभागले माग्यो स्पष्टीकरण
गोरखा दरवार पुननिर्माणको काममा सम्झौता अनुसारको प्रगति हुन नसकेपछि निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको छ ।
बिहीवार सार्वजनिक सूचना जारी गर्दै पुरातत्व बिभागले १५ दिनभित्र ठेकेदार स्वंय उपस्थित भइ लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणका लागी श्री पचली भैरव÷शिभको जेभीसँग २०७४ कात्तिक महिनामा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल कात्तिक मसान्त भित्र काम सक्नुपर्ने हो ।
तोकिएको समयमा काम सम्पन्न नभएपछि गत पुष ४ गते बिभागले ६ महिना म्याद थप ग¥यो । बिभाग ले थप गरेको म्याद अनुसार २०७७ साल जेठ मसान्त भित्र काम सक्नुपर्ने छ । म्याद थप भएपनि हालसम्म काममा प्रगति नभएपछि स्पष्टीकरण माग गरिएको पुरातत्व बिभागकी पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले बताइन् ।
‘म्याद थप भएको एक महिनासम्म पनि कामको प्रगति देखिएन,’ उनले भनिन्, ‘थपिएको समयभित्र कसरी काम सकिन्छ भन्ने कार्यतालिका सहित यही माघ ६ गतेभित्र उपस्थित हुन भनेर ठेकेदारलाइ पत्राचार समेत गरेका थियौ, तर अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन ।’ सम्पर्कमा नआएपछि स्पष्टीकरण माग गरिएको उनले बताइन् ।
बिभागसँग भएको सम्झौताका शर्त अनुसार काम अगाडी नबढाइएको र पटक पटक मौखिक तथा लिखित रुपमा ताकेता गर्दा समेत साइडमा कुनै काममा प्रगति नभएको बिभागले जनाएको छ ।
‘तोकिएको म्याद भित्र काम सम्पन्न गर्ने अवस्था समेत नदेखिएकाले सार्वजनिक ऐन २०६३ को दफा ५९ को उपदफा ७ अनुसार खरिद सम्झौता अन्त गर्नु नपर्नाको उचित कारण भए १५ दिन भित्र स्वंय उपस्थित भइ लिखित स्पष्टिकरण दिनुहोला, अन्यथा नियमानुसार करार सम्झौता अन्तको कारवाही अगाडी बढाइने छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ । चित्तबुझ्दो जवाफ नआए ठेक्का सम्झौता खारेज गरिने भण्डारीले चेतावनी दिइन् ।
विगत केही दिन देखि पुननिर्माणको काम रोकिएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषालले बताए । ‘थपिएको म्याद पनि अव पाँच महिना मात्रै बाँकी छ, तर अहिलेसम्म करिव ३५ प्रतिशत काम भन्दा सकिएको छैन, फेरि दश दिन देखि काम पनि भएको छैन,’ उनले भने ।
उनका अनुसार अहिलेकै गतिमा काम भएमा तोकिएको समय भित्र काम सम्पन्न नहुने पक्का छ ।
‘पर्याप्त मात्रामा निर्माण सामग्री पनि ल्याएको छैन, कहिले काठ छैन भन्छ, कहिले इट्टा सकियो भन्छ,’ उनले भने, ‘फेरि काम गर्ने कामदारहरु पनि केही दिन आउने केही दिन नआउने गरेका छन् ।’ काममा लापरवाही भएको उनले बताए । कुल चार करोड ३७ लाख लागतमा दरवार पुननिर्माण हुन लागेको हो । दरवार पुननिर्माणमा ढिलाइ भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन् ।