सरकारी वकील कार्यालयले पायो नयाँ भवन
सरकारी वकील कार्यालयले पायो नयाँ भवन
केशव गुरुङ
भूकम्पले क्षति पुगेको जिल्ला सरकारी वकीलको कार्यालय भवनको पुननिर्माण भएको छ ।
तीन करोड ५४ लाख ५२ हजार लागतमा साढे दुई तले पक्की भवन बनेको हो ।
एशियाली बिकास बैकको ऋण सहयोगमा जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मार्फत निर्माण भएको भवनको सोमवार उद्घाटन गरिएको छ । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले भवनको उद्घाटन गरेका हुन् ।
भवनको भुईतल्ला र पहिलो तल्ला कार्यालय प्रयोजन र दोस्रो तल्ला आवासिय प्रयोजनमा हुने गरी निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) की प्रमुख सुनिता श्रेष्ठले बताइन् ।
‘जम्मा २१ कोठाको भवन हो, त्यसमा सुबिधा सम्पन्न सोधपुछ कक्ष, प्रशासन, लेख, मुद्धा, अभिलेख र थुनुवा कक्षा छन्,’ उनले भनिन् । पीडितमैत्री कक्ष, बयान कक्ष, लाईबे्ररी कक्ष सहित कर्मचारीका लागि आवास र सेवाग्राही र पाहुन शयन कक्ष समेत रहेको उनले बताइन् ।
भवन निर्माणको जिम्मा रबिना डाँफे ड्रागन जे.भीले पाएको थियो । भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले उक्त भवनबाट पीडितलाइ न्यायको अनुभूति गराउन निर्देशन दिए । साना तिना मुद्धामा अपराधका आरोपितलाइ अनावश्यक झन्झट नदिन उनले सुझाएका छन् ।
‘गम्भिर प्रकृतिको कसुर छ, आरोपीत भागेर जान सक्ने सम्भावना छ, प्रमाण नष्ट गर्न सक्छ भने पक्राउ गरेर कस्टडिमा राखेर अनुसन्धान गर्नु ठिकै हो,’ उनले भने, ‘तर साना तिना खालका मुद्धा छन्, आरोपीत भागेर जाने अवस्था पनि छैन, प्रमाण नष्ट गर्न पनि सक्ने छैन भने पक्राउ गरेर कस्टडिमा राखेर अनुसन्धान गर्न आवश्यक छैन ।’ पक्राउ नगरी आवश्यक समन्वय गरेर अनुसन्धान गर्न सकिने उनले बताए ।
नयाँ कानूनको भावना अनुसार काम गर्न पनि उनले निर्देश गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार गुरुङ, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र घिमिरे, जिल्ला न्यायाधिस रमेशकान्त अधिकारी, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, नेपाल बार एसोसिएसन गोरखाका अध्यक्ष यादव शर्मा लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए ।
