दैनिक ६ प्रहरीले छाड्छन् जागिर !
दैनिक ६ प्रहरीले छाड्छन् जागिर !
नेपाल प्रहरीमा दैनिक ६ जनाले जागिर छाड्ने गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयकै पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार दैनिक ६ जनाले औषतमा जागिर छाड्ने गरेको पाइएको हो । जागिर छाड्नेमा हवल्दारको संख्या सबैभन्दा बढी छ । सरकारी सेवामा प्रहरीमा जागिर छाड्नेको संख्या अन्य निकायभन्दा बढी छ । बढ्दो निराशा, सेवा सुविधा, उत्तम अवसरका लागि जागिर छाड्ने क्रम बढेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७४–७५ मा दुईहजार ५६४ जनाले सेवाबाट राजीनामा दिए । ०७४–०७५ मा राजीनामा दिनेमा १३ सिनयर अधिकृत, जुनियर अधिकृत ४११, हवल्दार र जवान २१०९ र प्रहरी कार्यालय सहयोगी ३१ जना थिए । त्यतिबेला प्रहरीको कुल दरबन्दी ७२ हजार ७४४ थियो । जागिर छाड्नेको प्रतिशत ३ दशमलव ५२ देखिन्छ ।
उक्त आर्थिक वर्षमा दैनिक औषतमा जागिर छाड्नेको संख्या ७ जना देखिन्छ । आर्थिक वर्ष ०७५–०७६ मा यो संख्या बढेर तीनहजार ७३ पुगेको छ । जसमा सिनयर अधिकृत २४, जुनियर अधिकृत ४५६, हवल्दार–जवान दुईहजार पाँच सय ११ र प्रहरी कार्यालय सहयोगी ८२ थिए । ०७५–०७६ मा कुल प्रहरी दरबन्दी ७५ हजार ९२७ थियो ।
सो अवधिमा तीन हजार ७३ अर्थात् ४ दशमलव ०५ प्रतिशतले जागिर छाडे । जुन दैनिक ८ जना बढीले जागिर छाडेको देखिन्छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म ७९ हजार ५२३ दरबन्दी रहेकोमा एकहजार ४१८ जनाले जागिर छाडेका छन् । जसमा हवल्दार र जवानको संख्या एक हजार ४३ छ । जुनियर अधिकृत ३३१, सिनियर अधिकृत १० र प्रहरी कार्यालय सहयोगी ३४ छन् । चालु आर्थिक वर्षको तथ्याङ्क अनुसार जागिर छाड्नेको प्रतिशत १ दशमलव ७८ देखिन्छ । जुन दैनिक ५ जना बढी हो ।
गम्भीर समीक्षा जरुरीः पूर्वडीआइजी मल्ल
तालिमप्राप्त जनशक्ति किन जागिर छाड्न खोज्छ त्यसको विकल्पबारे गम्भीर समीक्षा गर्नुपर्ने बताउँछन् पूर्वडीआईजी हेमन्त मल्ल । जागिर छाड्ने तल्लो तहका बढी भएकाले उनीहरुलाई संगठनप्रति ‘अपनत्व’ महसुस गराउनुपर्ने मल्लको सुझाव छ । उनले भने, ‘परिवार जीवन धान्न सक्ने अवस्था छैन । सेवा सुविधासँगै पेशाप्रति गौरव हुने कार्यक्रम ल्याउन जरुरी छ ।
सुरक्षा संयन्त्रमा व्यक्तिहरुले विकल्पमा अर्को पेशा रोज्नु राम्रो होइन ।’ जागिर छाडेका प्रहरी कर्मचारी प्रायः विदेश जाने गरेका छन् । तल्लो तहका प्रहरी अधिकांश सेक्युरेटी गार्डमा तेस्रो मुलुक जाने गरेको पाइएको छ । सिनयर प्रहरी अधिकृत भने वढुवाको असन्तृष्टि, बेलाबखत नेतृत्वसँगको बेमेलका कारण संगठनबाट राजीनामा दिँदै आएका छन् ।
१८ वर्षमै पेन्सन लिन पाइने भएकाले पनि जागिर छाड्नेको संख्या बढेको पूर्वडीआईजी मल्ल बताउँछन् । मल्ल जागिर छाड्नबाट रोक्नका लागि १८ वर्षे सेवा अवधि बढाउनेदेखि अन्य कार्यक्रम ल्याउन सकिने बताउँछन् ।
आकर्षण घटेको छैनः प्रहरी प्रवक्ता
प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्री प्रहरीमा आकर्षण नघटेको दाबी गर्छन् । ठूलो संगठनमा थोरै संख्याले जागिर छाड्नु नौलो नभएको उनको दाबी छ । डीआईजी क्षेत्री भन्छन्, ‘अन्यत्र राम्रो अवसर, जोखिमयुक्त पेशा, कार्यबोझ, परिवारलाई समय दिन नसक्नु लगायतका कारण संगठन छाड्ने गरेको देखिन्छ । तर यो निकै कम हो ।’