क्रसर परिसरमा टिपरको ठक्करले महिलाको मृत्यु
क्रसर परिसरमा टिपरको ठक्करले महिलाको मृत्यु
अवैध रुपमा संचालित गोरखकाली क्रसर परिसरभित्र टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि गोरखा नगरपालिका–१० छेवेटार शुक्रवार विहानै देखि तनावग्रस्त थियो ।
बिहान दुध बेच्न घरबाट हिडेकी गोरखा नगरपालिका–१० अमलापानीकी ५२ बर्षिया मनमाया तामाङलाई ग १ ख ८०२७ नम्वरको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।ठक्करबाट सामान्य घाइते भएकी तामाङलाइ ब्याक गरी किचेर मारेको भन्दै स्थानीय आक्रोशित भए । आक्रोशित स्थानीयले उक्त टिपरमा आगजनी गरे । क्रसरमा रहेका करिव २५ सवारीसाधनमा उनीहरुले क्षति पु¥याए ।
क्रसरको कार्यालय र मजदुरको आवासको रुपमा प्रयोग भएका भवनहरु पनि तोडफोड भए । अवैध रुपमा संचालन भएको उक्त क्रसर बन्द गर्नुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने स्थानीय र पीडित परिवारले माग राखे ।
माग पूरा नभएसम्म शव नउठाउने पीडित पक्षले अडान लिएपछि विभिन्न चरणमा वार्ताको प्रयासहरु भए । प्रमुख जिल्ला अधिकारीको संयोजनमा छेवेटारमा भएको पहिलो वार्ता विना निष्कर्ष टुङ्गियो ।
पीडित पक्षले अवैध क्रसर बन्द गर्नुपर्ने र ५० लाख क्षतिपूर्ति रकम दिनुपर्ने माग राखे । प्रजिअले नियमानुसार क्षतिपूर्ति रकम उपलब्ध हुने भनेपछि वार्ता भाडियो । दोस्रो चरणको वार्ता बाह्र किलो बजारमा भयो । उक्त वार्तामा पनि पीडित पक्षले आफ्नो अडान छाडेनन् ।
सहमति नभएपछि पुनः वडाध्यक्ष सहित पीडित र पीडक पक्षबिच छुट्टै वार्ता शुरु भयो । पीडक पक्षले दश लाख सम्म क्षतिपूर्ति दिनसक्ने बतायो । अन्तत १५ लाख दिने शर्तमा सहमती जुट्यो । सहमति जुट्दै गर्दा पीडित पक्षले क्रसर बन्द गर्ने नगर्ने कुरा पनि उठाए । तर प्रजिअले पछि अध्ययन गरौला भन्दै टारिदिए । शुक्रवार राती सहमति जुटेपछि शनिवार शवको अन्तिम संस्कार गरिएको छ । टिपर चालक रामु बिक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी वासुदेव खतिवडाले बताए ।
घटनास्थलमा सबैभन्दा पहिले पुगेका ठकुरी भन्छन् ः टर्च लाइट बलिरहेको थियो
महिलालाई किचेर मारेसँगै टिपर चालक घटनास्थल भन्दा केही पर गाडी पार्किङ गरेर भागे । घटना भएको केही समयमै अमलापानीका स्थानीय माधव ठकुरी घटनास्थल पुगेका थिए । सम्भवत घटनास्थल पुग्ने पहिलो व्यक्ति उनै हुन् ।
त्यहाँ पुगेर देखेको दृश्यबारे उनले सुरुवात दैनिकलाई यसरी सुनाए ः
‘मेरो छेवेटार बजारमा होटल छ । होटल जान भनेर म बिहान करिव सभा ६ बजे घरबाट निस्किए । रिमरिम अध्याँरो थियो । घटना भएको ठाउँमा आइपुग्ने बेला लाइट बलिरहेको देखे । लाइट बाल्दै कोही आए होला भन्ने सोचे ।तर त्यही पुगेर हेर्दा मान्छे लडिरहेको देखेपछि झस्किए । अनुहार चिन्न सक्ने अवस्थामा थिएन । सलले मुख ढाकेको रहेछ । हिजो राती एक जना मानसिक सन्तुलन गुमाएकी एक महिला गाउँमा हिडिरहेकी थिइ भन्ने सुनेको थिए, पहिले त त्यही होला भन्ने लाग्यो । तर भुइँमा पोखिएको दुध र लडिरहेको दुधको वोत्तल देखेपछि पक्कै मनमाया हो भन्ने शंका लाग्यो ।
उहाँ सधै बिहान दुध बेच्न छेवेटार जानुहुन्थ्यो । उहालाई दुध बेचेर फर्कदै गर्दा मैले सधै तारा माध्यामिक बिद्यालय नजिकै भेट्थे । मनमाया नै हो भन्ने भएपछि मैले घटनास्थल नजिकै घर भएको मान्छेलाइ बोलाए । त्यस अघि क्रसर नजिकैको पानी ट्याङकीमा मुख धुन दुइ जना आएका थिए, मैले सहयोगका लागी बोलाएको आएनन् । पछि घर नजिकैको मैले बोलाएको मान्छे आए ।
हामीले क्रसरको मेनेजर देखेपछि बोलाएर प्रहरीलाइ खवर गर्न भन्यौ । अनि एकछिन पछि प्रहरी आयो ।’