चैत्र १ गतेबाट दादुरा रुवेला खोप अभियान
चैत्र १ गतेबाट दादुरा रुवेला खोप अभियान
चैत्र १ गतेबाट जिल्लामा दादुरा रुबेला खोप अभियान शुरु गरिने भएको छ ।
जिल्लाका ११ स्थानीयमा चरणवद्ध रुपमा अभियान संचालन गरिने वुधवार बसेको जिल्ला खोप समन्वय समितिको वैठकले निर्णय गरेको हो ।पहिलो चरणमा पाँच स्थानीय तहमा एकैसाथ अभियान शुरु हुने खोप सुपरभाइजर अधिकृत राजुरमण न्यौपानेले बताए । उनका अनुसार दोस्रो चरणमा बाँकी ६ स्थानीय तहमा अभियान संचालन गरिने छ ।
‘पहिले सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा र आरुघाट गाउँपालिकामा अभियान शुरु गर्छाै,’ उनले भने, ‘दोस्रो चरणमा गोरखा र पालुङटार नगरपालिका, गण्डकी, शहिद लखन, चुमनुब्री र धार्चे गाउँपालिकामा अभियान शुरु हुन्छ ।’ चैत्र १५ गतेबाट दोस्रो चरणको अभियान संचालन हुने उनले बताए ।
जिल्लाका ३ सय ६४ खोप केन्द्रबाट २० हजार ६ सय २० जना बालबालिकालाई खोप लगाउने लक्ष्य कार्यालयको छ । ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाइने छ ।
अभियानमा एक सय ६० स्वास्थ्यकर्मी र ९ सय २३ जना स्वयमसेविका खटिने छन् । खोप नलगाउँदा बालबालिकामा कुपोषण, झाडापखाला, निमोनिया, आँखा कान सम्बन्धी समस्या देखा पर्न सक्ने भएकाले अभियानमा साथ दिन कार्यालयले आग्रह गरेको छ ।
सोहि अभियानबाट नियमित खोप कार्यक्रमलाई थप सुदृढ बनाउदै लैजाने न्यौपानेले बताए । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा रुवेला खोप निवारण गर्ने लक्ष्य लिएको छ ।
सोही लक्ष्य अनुसार गण्डकी प्रदेशका सबै जिल्लामा चैत्र महिनाभरी खोप अभियान संचालन गरिसक्ने कार्यालयले जनाएको छ ।