भूकम्पपीडितले किस्ता पाएनन्
भूकम्पपीडितले किस्ता पाएनन्
बुधबार तेस्रो किस्ता लिन प्राधिकरण कार्यालय आएकी पार्वती परियार रित्तै फर्किइन् । शहीद लखन गाउँपालिका–७ बुंकोटबाट उनी कार्यालय धाएको यो पाँचौ पटक हो ।
‘किस्ताको लागी र्फम भरेको पनि तीन महिना भइसक्यो,’ उनले भनिन्, ‘तीनरचार पटक बैंक गइसके तर खातामा पैसा आएकै छैन भन्नुभयो ।’
बुधबार प्राधिकरणको कार्यालय पुग्दा कर्मचारीले उनलाई पैसा सकिएको जानकारी गराए । पार्वतीले केही दिनमा पैसा आउने र खातामा जम्मा हुने आश्वासन मात्रै पाइन् ।
‘किस्ता रकम आएपछि तिर्छु भन्दै सरसापट खोजेर घर सम्पन्न गरे, घर सकियो तर किस्ता रकम आएको छैन, उता इँटा र ट्रष्टको मान्छेले पैसा मागेर हैरान छ,’ उनले भनिन् । काम गर्ने मजदुरलाई ज्याला समेत दिन बाँकी रहेको उनको भनाइ छ ।
किस्ताकै लागि अहिले दैनिक १० देखि १५ जना लाभग्राही कार्यालय धाउने गर्छन् । तर रकम छैन भन्दै उनीहरुलाई कार्यालयले फर्काइदिने गरेको छ ।
‘पुस १५ बाट पैसा सकिएको हो,’ प्राधिकरणको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइ गोरखाका प्रमुख रामशरण आचार्यले भने, ‘रकम माग गर्दै हामीले माथि केन्द्रमा जानकारी पनि गराइसकेका छौं ।’
पैसा आउन अझै कम्तिमा एक हप्ता लाग्ने बताउँदै उनले थपे, ‘पहिले पैसा दिने स्रोत अर्कै थियो, तर अहिले त्यो स्रोतबाट पैसा नआउने भयो, अर्काे स्रोत खोज्दा समय लागेको भन्ने जानकारी पाएका छौ ।’
उनका अनुसार रकम रोकिएको मध्य सबैभन्दा धेरै तेस्रो किस्ता लिने लाभग्राही छन् ।
करिब दुई हजार लाभग्राही रहेको उनले बताए । पहिलो र दोस्रो किस्ता रोकिएको लाभग्राहीे संख्या एकरएक हजार रहेको उनको भनाइ छ ।
‘उनीहरुको फाइल कम्प्लिट भइसक्यो, पैसा हाल्न मात्रै बाँकी हो, तर रकम नभएर रोकिएको छ,’ उनले भने । उनीहरुका लागि कूल ७० करोड रकम आवश्यक पर्ने इकाइ प्रमुख आचार्यको भनाइ छ ।
जिल्लामा कुल ७२ हजार ४६५ जना लाभग्राही मध्य ६८ हजार ३६० ले सम्झौता गरेर पहिलो किस्ता लगिसकेको कार्यालयले जनाएको छ । दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ६१ हजार ३८० र तेस्रो किस्ता लिने ५६ हजार ८ सय रहेको बताइएको छ ।