अतिक्रमण हटाउदै स्थानीयले गरे सडक स्तरोन्नती
अतिक्रमण हटाउदै स्थानीयले गरे सडक स्तरोन्नती
जेठ २५, गोरखा । गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरा देखि नौविसे खाल्टे गाउँ हुदै गोरखा नगरपालिका जाने सडक स्तरोन्नती गरिएको छ । गणेशमान सिं बस्न्यातको अगुवाइमा स्थानीय मिलेर सडक स्तरोन्नती गरेका हुन् । स्थानीयका अनुसार करिव १५ बर्ष अघि उक्त सडकको ट्र¥याक खोलिएको थियो ।
‘त्यो सडक खासै प्रयोगमा नआउँदा अतिक्रमण बढ्दै गयो,’ बस्न्यातले भने, ‘अहिले अतिक्रमण हटाउँदै हामीले सडक स्तरोन्नती गरेका हौ ।’ वडा नम्वर ८ र ९ का स्थानीयको भेलाबाट उपभोक्ता समिति गठन गरेर काम गरिएको उनले बताए । उपभोक्ता समिति अध्यक्ष समेत रहेका बस्न्यातका अनुसार सडक स्तरोन्नती गर्नु अघि जनप्रतिनिधीसँग पनि छलफल भएको थियो ।
सडक स्तरोन्नती भएसँगै वडा नम्वर ८ र ९ का स्थानीयलाई धान पराल बोक्न र खेतिपाती गर्न सहज हुने अपेक्षा गरिएको छ । उक्त सडक ठिगुरेस्वाँराबाट नगरपालिका जाने छोटो बाटो समेत भएकाले थप सहज हुने अपेक्षा गरिएको छ । सो क्षेत्रमा निर्माण हुदै गरेको लिफ्टिङ खानेपानी आयोजना निर्माणको काममा पनि सहज हुने स्थानीयले बताएका छन् ।