स्थानीय तहको बजेट र नीति कार्यक्रम सार्वजनिक
स्थानीय तहको बजेट र नीति कार्यक्रम सार्वजनिक
जिल्लाका स्थानीय तहले आगामी आर्थिक बर्ष २०७७÷७८ को बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बुधवार बजेट र नीति कार्यक्रम सार्वजनिक नगरेका पालिकाले भने केही दिनमा सार्वजनिक गर्ने बताए ।
बारपाक सुलिकोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागी ५५ करोड १४ लाख २० हजार को बजेट प्रस्तुत गरेको छ । वुधवार भएको गाउँसभाको सातौ अधिवेशनमा बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक भएको नीति तथा कार्यक्रममा कोरोना भाइरस लगायत सबै स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य पूर्वाधार निर्माण सेवाको दायरा बढाउने र स्वास्थ्य जनशक्तिको क्षमता बिकास गर्ने योजना लिइएको छ । कोरोना संक्रमितको उपचारका लागी गाउँपालिकामा कम्तिमा १० वेडको आइसोलेसन कक्ष स्थापना गर्ने नीति गाउँपालिकाको छ ।
कृषि क्षेत्रमा लगानी बढाउने योजना पनि गाउँपालिकाले बनाएको छ । संघिय सरकारको सहयोगमा गाउँपालिका का कर्मचारीहरुको एक लाख सम्म कोरोना बिमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शहिद लखन गाउँपालिकाले आगामी आवका लागी ५२ करोड ४७ लाख ४० हजार को बजेट प्रस्तुत गरेको छ । वुधवारको सातौ गाउँसभामा बजेट सार्वजनिक गरिएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी गाउँपालिकाले १ करोड २० लाख रकम विनियोजन गरेको छ ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागी एक करोड २५ लाख रकम छुट्याइएको छ । सबै वडाका मुख्य सडकहरुको स्तरोन्नतीका लागी १ करोड २८ लाख २५ हजार रकम विनियोजन गरिएको पालिका अध्यक्ष रमेश थापाले बताए । सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न १ करोड ४० लाख रकम बिनियोजन गरिएको उनले जानकारी गराए ।
अजिरकोट गाउँपालिकाले आगामी आवको लागी ४६ करोड ६९ लाख १३ हजारको बजेट प्रस्तुत गरेको छ । बुधवार भएको गाउँसभामा बजेट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सँगै कृषि, स्वास्थ्य, सडक लगायतका पूर्वाधार बिकास कार्यक्रमलाइ जोड दिइएको छ ।
भीमसेन थापा गाउँपालिकाले ५८ करोड ७३ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । वुधवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा खानेपानी र सडक लगायतका पूर्वाधार बिकासका कामलाइ प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । कोरोना रोकथाम तथा नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।
पालुङटार नगरपालिकाको आगामी आवको बजेट ८० करोड ४६ लाख ८५ हजार रहेको छ । नगरसभामा वुधवार बजेट प्रस्तुत गरिएको हो । पानपाले कोरोना भाइरस रोकथाम नियन्त्रणसँगै कृषि, स्वास्थ्य, पर्यटन र शिक्षालाइ प्राथमिकतामा राखेको छ ।
त्यस्तै धार्चे गाउँपालिकाले आगामी आवका लागी ३८ करोड १७ लाख ५४ हजार बजेट प्रस्तुत गरेको छ । वुधवार गाउँसभामा उक्त अनुमानित बजेट सार्वजनिक गरिएको हो । शिक्षा, कृषि, सडक लाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ । आरुघाट गाउँपालिकाले पनि आगामी आवका लागी अनुमानित बजेट सार्वजनिक गरेको छ । वुधवारको गाउँसभामा नीति तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
सिरानचोक गाउँपालिकाको आगामी आवका लागी अनुमानित बजेट ६४ करोड ११ लाख ४१ हजार रहेको छ । तर बिशेष कारणले बुधवार गाउँसभा गरेर बजेट सार्वजनिक गर्न नसकिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए । केही दिनमा बजेट सार्वजनिक गरिने उनको भनाइ छ ।
गोरखा नगरपालिकाले बुधवार आगामी आवको नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बन्दाबन्दीका कारण मर्कामा परेका व्यवसायीलाई व्यवसाय संचालनका लागि २५ प्रतिशत र नवीकरण शुल्कमा ५० प्रतिशत कर छुट गरिने नीति लिइएको छ ।
प्रविधिमैत्री शिक्षालाई जोड दिदै विद्यालय छाड्ने दरलाई कम गर्न कक्षा ५ सम्मको खाजाको कार्यलाई पूर्णरुपमा लागू गर्दै इसीडीका बालबालिकालाई थप खाजाको व्यवस्था गर्ने नगर प्रमुख पन्तले बताए ।
चुमनुव्री र गण्डकी गाउँपालिकाले भने वुधवार बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेनन् । केही दिनमा गर्ने तयारी रहेको उनीहरुले बताएका छन् ।