गोरखामा हालसम्म एक हजार ९६ को पिसिआर परिक्षण
गोरखामा हालसम्म एक हजार ९६ को पिसिआर परिक्षण
जिल्लामा हालसम्म एक हजार ९३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
जसमध्य ९ सय ३२ जनाको रिपोर्ट आएको छ । १ सय ६४ जनाको रिपोर्ट आउन बाँकी छ । रिपोर्ट आएका मध्य ७२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । बाँकी ८ सय ६० जनामा कोरोना संक्रमण नभएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
‘पिसिआर परिक्षण गरिएकामध्य अधिकांश सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए,’ उनले भने, ‘केही भने बिरामी भएर अस्पतालमा उपचार गराउन आउनेहरु हुन्, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरिएका व्यक्तिहरु पनि छन् ।’
कुन स्थानीय तहमा कतिगोरखा नगरपालिकाको क्वारेन्टिनमा रहेकामध्य १ सय १८ जनाको पिसिआर परिक्षण भएको छ । उनीहरु सबैको रिपोर्ट आएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । जसमध्य ९ जनामा संक्रमण पुष्टी भएको छ । ‘अहिले क्वारेन्टिनमा १४ जना छन्,’ उनले भने, ‘उनीहरुको केही दिनमा स्वावको नमूना संकलन गरेर परिक्षण गर्न पठाउछौ,’ उनले भने । सदरमुकामको सत्यम र बिसौनी होटलमा पनि केही व्यक्तिहरु सेल्फ क्वारेन्टिनमा बस्दै आएको जानकारी दिदै उनले थपे, ‘उनीहरुको पनि पिसिआर परिक्षणको तयारी गरिरहेका छौ ।
पालुङटार नगरपालिकामा हालसम्म १ सय ५७ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्य १ सय १२ जनाको रिपोर्ट आएको स्वास्थ्य शाखाका दिपेन्द्र गिरीले बताए । उनका अनुसार ४५ जनाको रिपोर्ट आउन बाँकी छ । हालसम्म ८ जनामा कोरोना संक्रमण भएको उनले बताए । हाल पालिकाभर ५९ जना क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।
शहिद लखन गाउँपालिकामा हालसम्म ९१ जनाको पिसिआर परिक्षण गरिएको छ । ६८ जनाको रिपोर्ट आएको छ भने २३ जनाको आउँन बाँकी रहेको गाउँपालिकाका कोभिड–१९ फोकल पर्सन बिश्व श्रेष्ठले बताए । रिपोर्ट आएका मध्य १० जनामा कोरोना देखिएको छ । पालिकाभित्र हाल २४ जना क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।
भीमसेन थापा गाउँपालिकाका २ सय १६ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्य २६ जनामा कोरोना पुष्टी भएको छ । बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी नवराज लौडारीले बताए । हाल ७७ जना क्वारेन्टिनमा बस्दै आएको उनले जानकारी दिए ।
अजिरकोट गाउँपालिकाका १३ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्य १ जनामा कोरोना संक्रमण देखिएको छ भने बाँकीको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले बताए । उनका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ । हाल क्वारेन्टिनमा तीन जना रहेको उनले जानकारी दिए ।
बारपाक सुलिकोट गाउँपालिकामा ७४ जनाको पिसिआर परिक्षण गरिएको छ । सबैको रिपोर्ट आइसकेको छ । उनीहरुमध्य ३ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले बताए । हाल २२ जना क्वारेन्टिनमा रहेको उनले जानकारी दिए ।
गण्डकी गाउँपालिकाका ५१ जनाको पिसिआर परिक्षण गरिएको छ । सबैको रिपोर्ट आइसकेको छ । उनीहरु मध्य १५ जनाका कोरोना संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख बेली श्रेष्ठले बताइन् । हाल १४ जना क्वारेन्टिनमा रहेको उनको भनाइ छ ।
आरुघाट गाउँपालिकामा ७० जनाको पिसिआर परिक्षण भएको छ । ६० जनाको रिपोर्ट आएको र बाँकी १० जनाको आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख बिजय श्रेष्ठले बताए । रिपोर्ट आएका सबैमा कोरोना संक्रमण नभएको बताउदै उनले हाल क्वारेन्टिनमा २४ जना रहेको जानकारी गराए ।
धार्चे गाउँपालिकाका २० जनाको पिसिआर परिक्षण भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अमृत बहादुर घलले बताए । उनका अनुसार हाल पालिकाका दुइ जना आरुघाटको क्वारेन्टिनमा छन् ।
सिरानचोक गाउँपालिकामा ३५ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्य २५ जनाको रिपोर्ट आइसकेको छ । उनीहरु सबैमा कोरोना संक्रमण नभएको स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताए । हाल पालिकाभर क्वारेन्टिनमा बस्नेको संख्या २९ जना रहेको उनले जानकारी दिए ।
चुमनुव्री गाउँपालिकामा हालसम्म कसैको पिसिआर परिक्षण भएको छैन । अहिले ३२ जना क्वारेन्टिनमा रहेको गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बताए । स्वास्थ्य कार्यालयले पिसिआर परिक्षण नगरिदिदा समस्या भएको उनको भनाइ छ । ‘पिसिआर परिक्षण गर्न आएका छैनन, १४ दिन क्वारेन्टिनमा राखेर आरडिटी टेष्ट गर्दै पठाउने गरेका छौ,’ उनले भने ।
त्यस्तै जिल्ला अस्पताल गोरखामा हालसम्म २ सय ४८ जनाको पिसिआर परिक्षण भएको छ । जसमध्य १ सय ७३ जनाको रिपोर्ट आइसकेको छ । पिसिआर परिक्षण गरिएकाहरु आइसोलेसनमा उपचाररत कोरोना संक्रमित देखि बिरामी भएर अस्पताल आउने सम्म छन् ।
१८ जना संक्रमित निको भएर घर फर्किएगोरखा अस्पतालको आइसोलेसन वार्डमा उपचार गराइरहेको कोरोना संक्रमित मध्य ९ जना उपचार पश्चात घर फर्केका छन् । गण्डकी गाउँपालिकाका ५ र गोरखा नगरपालिकाका ४ जनालाई बिहीवार डिस्चार्ज गरिएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । डिस्चार्ज हुनेमा ८ पुरुष र १ महिला छन् । उनीहरु २० बर्ष देखि ३५ बर्ष उमेर समूहको रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नविन थापाले बताए ।
यस अघि ९ जना संक्रमित उपचार पश्चात निको भएर घर फर्किसकेका छन् । ‘बाँकी दुइ जना पनि निको भइसक्नुभएको छ, तर सवारी नपाएर घर पठाउन सकिएन, भोली डिस्चार्ज गर्छाै,’ अस्पताल स्रोतले भन्यो ।