आरुघाट र आर्खेतमा घरगोठ तथा बोटविरुवाको लगत संकलन शुरु
आरुघाट र आर्खेतमा घरगोठ तथा बोटविरुवाको लगत संकलन शुरु
वुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र आर्खेत बजार क्षेत्रमा घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क संकलनको काम शुरु भएको छ ।
सोमवारबाट लगत संकलनका लागी प्राविधिक टोलिहरु फिल्डमा खटिएको आयोजनाको पुर्नवास तथा पुर्नस्थापना एकाइले जनाएको छ ।‘सवइन्जिनियर, जेटिए र वनको प्राविधिक एक÷एक जनाको साथमा तीन जना इन्जिनियर खटिनुभएको छ,’ एकाइ प्रमुख कार्कीले भने, ‘करिव डेढ महिनामा काम सकिन्छ ।’
उक्त टोलिले डुवान क्षेत्रमा पर्ने घरगोठ लगायतका भौतिक संरचना तथा फलफुल र बोटविरुवाको लगत संकलन गर्ने उनले बताए । आयोजना डुवानमा पर्ने अन्य क्षेत्रमा लगत संकलनको काम सम्पन्न भइसकेपनि आरुघाट र आर्खेतमा स्थानीयले लगत संकलन गर्न रोक लगाएका थिए । जमिनको मुआब्जा निर्धारण नगरी तथ्याङ्क संकलन गर्न नदिने अडान उनीहरुको थियो ।
तर अहिले जमिनको मुआब्जा निर्धारण भइसकेको र स्थानीय आफैले लगत संकलनका लागी आग्रह गरेपछि काम शुरु गरिएको कार्कीको भनाइ छ । गत फागुन २३ गतेबाट आयोजनाले लगत संकलनको काम शुरु गरेको थियो ।
मुआब्जा वितरण गर्दा ह्रासकट्टी नगर्न स्थानीयले माग गर्दै आएका छन् । ‘डिपिआरको इआइए रिपोर्टमा ह्रास कट्टी नगर्ने भन्ने छ, हामीले मन्त्रालयमा लेखेर पठाइसकेका छौ, तर माथिबाट निर्णय भएर आएको छैन,’ कार्कीले भने । हालसम्म आयोजना प्रभावितका लागी गोरखा तर्फ करिव १७ अर्व मुआब्जा रकम वितरण भइसकेको उनले जनाकारी दिए ।