८ बर्षीय बालकमा देखियो कोरोना
८ बर्षीय बालकमा देखियो कोरोना
भीमसेन थापा गाउँपालिका–६ मोहरियाका ८ बर्षीय बालकलाई कारोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया विफ्रिङ गर्दै मंगलवार गोरखामा एक जना कोरोना संक्रमित थपिएको पुष्टी गरेको हो । मंगलवार संक्रमण देखिएका बालकका बुवा र आमालाई यसअघि नै कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
भारतबाट आएका क्वारेन्टिनमा बस्दै आएका उनीहरु हाल गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत छन् । परिवारका सबै सदस्य आइसोलेसनमा भएपछि रेखदेख गर्ने कोही नहुदाँ उक्त बालका बुवाआमा सँगै आइसोलेसनमा बस्दै आएका थिए ।
संक्रमितसँगै बसेपछि केही दिन अघि उक्त बालकको पिसिआर परिक्षणका लागी नमूना संकलन गरेर पठाइएको थियो ।
३ संक्रमित डिस्चार्ज
गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत तीन जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्केका छन् । बिभिन्न मितिमा दुई पटक गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ देखिएपछि मंगलवार उनीहरुलाइ डिस्चार्ज गरिएको बताइएको छ ।
डिस्चार्ज हुनेमा पालुङटार नगरपालिका–७ का दुई र भीमसेन थापा गाउँपालिका–५ का १ पुरुष रहेका छन् ।
उनीहरुलाइ १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । उक्त आइसोलेसनमा हाल ४३ जना संक्रमितको उपचार भइरहेको छ ।