एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक
एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक
फाइल तस्बिर
नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ ।
सोमबार बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातायात सञ्चालनका लागि काम भइरहेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै भासिएको हो ।
उनले १७ किलोमा तीनदेखि ३ दशमलव ५ मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटजति सडक भासिएको बताए । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । सडक ग्राबेलिङ गरेपछि दुईतर्फी सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
सो ठाउँमा वि.सं २०६० मा सडकमुनिबाट एङ्कर वाल दिएर निर्माण गरिएको थियो। यसैमा समस्या आएको जनाइएको छ । सो क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर वालले काम गर्न छाडेको हो।
दुई वर्षअघि सो सडक विस्तारको काम गरिएको हो । सडक निर्माण गरिएको एक वर्ष नपुग्दै सो ठाउँ र २६ किलोमा ६ दशमलव ५ मिटर फराकिलो सडक ७० मिटर लामो भाग भासिएको छ। ती दुवै ठाउँमा मर्मतका लागि बोलपत्र आह्वान गरिएको भए पनि बोलपत्र नपरेको सडक विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुई पटक बोलपत्र आह्वान गर्दासमेत कोही पनि नआएको बताए । प्राविधिकरूपमा दक्ष भएको ठेकेदार कम्पनीले मात्र काम गर्नसक्ने भएकाले जो कोहीले आँट नगरेको बुझिएको छ ।
ठेक्का नपरेपछि यस वर्षको वर्षातमा पनि यत्तिकै सडक सञ्चालन गर्नुपर्ने भएको हो । भासिएको क्षेत्र बढेमा वर्षातको समयमा समस्या आउनसक्ने अनुमान गरिरहेका बेला सो ठाउँमा सडक थप भासिएको हो । यस सडक राजधानी भित्रने र बाहिरिने प्रमुख मार्ग हो ।
सडकमा दैनिक १० हजार सवारीसाधन आवागमन गर्ने गर्दछन् ।