काम नगर्ने ठेकेदारलाई गोरखा दरवार पुननिर्माणको जिम्मा, निर्माण कार्य अलपत्र
काम नगर्ने ठेकेदारलाई गोरखा दरवार पुननिर्माणको जिम्मा, निर्माण कार्य अलपत्र
काम नगर्ने ठेकेदारलाइ गोरखा दरवार पुननिर्माणको जिम्मा दिदा अहिले काम अलपत्र छ ।
भूकम्पले क्षति पुगेको दरवार पुननिर्माणका लागी पचली भैरव सिभाको जेभीसँग भएको ठेक्का सम्झौता अनुसार २०७६ साल मंसिर मसान्त भित्र काम सक्नुपर्ने थियो ।
तर काममा लगाव नदेखाउने ठेकेदारका कारण तोकिएको समयमा काम सम्पन्न हुन सकेन । विभिन्न वहाना बनाउदै ठेकेदारले पुरातत्व बिभागमा हारगुहार गरेपछि २०७७ जेठ मसान्तसम्मका लागी म्याद थप भयो । तर थप गरिएको समयमा पनि काम सकिएन । ठेकेदारले मनोमानी गर्दै बारम्वार पुननिर्माणको काम ठप्प बनाउँदै आयो ।
कामदार र निर्माण सामग्री अभाव देखाउदै पन्छिन खोज्ने ठेकेदारलाई बिभागले पनि लगाम लगाउन सकेन । पहिलो पटक थप गरिएको समय सकिदा पनि कामको प्रगति देखिएन ।
लक डाउनको वहाना वनाउँदै ठेकेदारले थप समय माग ग¥यो । राष्ट्रिय पुननिर्माण प्राधिकरणको सचिव स्तरीय निर्णयले २०७७ मंसिर मसान्तसम्मका लागी म्याद थपिदिएको छ । तर अहिलेसम्म ४० प्रतिशतभन्दा कामको प्रगति नभएको गोरखा दरवार हेरचाह अड्डाका प्रमुख हरि भुषाल बताउछन् ।
लक डाउनको वहाना बनाउँदै करिव चार महिना ठप्प भएको काम यही असार १७ गतेबाट शुरु भएको छ । दुइ जना मात्र काष्ठकलाको काम गर्ने कामदार ल्याएर काम शुरु गरिएको छ ।
अहिलेकै गतिमा काम हुने हो भने दोस्रो पटक थपिएको म्यादमा पनि काम सम्पन्न नहुने दरवार हेरचाह अड्डा प्रमुख भुषाल बताउछन् । ठेकेदार आफ्नो जिम्मेवारी प्रति उदासिन देखिएको उनले बताए ।
‘कामको गति निकै सुस्त छ, यही गतिमा काम हुने हो भने थप भएको समयभित्र पनि काम सकिन्न,’ उनले भने । दरवार पुननिर्माणको काममा ठेकेदारले वेवास्ता गर्दा समस्या भएको उनको गुनासो छ । ‘जिल्ला आउने पर्यटक नै घटेका छन्, सामान भण्डारण पनि उचित तरिकाले गरिएको छैन, बिजोग छ,’ उनले भने ।
दरवार पुननिर्माणमा भएको ढिलासुस्तीका कारण सँगै रहेका कालिका मन्दिर, रंगमहल लगायतका संरचना पुननिर्माण हुन नसकेको उनले बताए । काममा तदरुपता नदेखाउने ठेकेदार भुक्तानी लिन भने अग्रसर देखिएका छन् ।
हालसम्म एक करोड रकम ठेकेदारले लिइसकेको अड्डाले जनाएको छ । काममा लापरवाही गरिदिदाँ जिल्लाको पर्यटन क्षेत्रमा नै असर सरोकारवालाले बताएका छन् ।