रित्तिदै आइसोलेसन
रित्तिदै आइसोलेसन
कोरोना संक्रमित उपचाररत जिल्लाका आइसोलेसनहरु क्रमश रित्तिन थालेका छन् ।
७५ वेड क्षमताको गोरखा क्याम्पसको आइसोलेसन केन्द्रमा हाल ११ जना संक्रमितको उपचार भइरहेको छ ।आइसोलेसनको व्यवस्थापन हेर्ने गरी खटिएका शाखा अधिकृत सुवास आचार्यका अनुसार केही समय अघि ४० जनासम्म संक्रमित उक्त आइसोलेसनमा उपचाररत थिए ।
तर अहिले संख्या घटेको उनले बताए । ‘धेरै बिरामी हुदाँ सबै कुरा व्यवस्थापन गर्न समस्या हुन्थ्यो,’ उनले भने, ‘अहिले संख्या पनि थोरै छ, व्यवस्थापनमा पनि सहज भएको छ ।’ संक्रमितको संख्या घटेसँगै एक पटक पिसिआर रिपोर्ट नेगेटिभ आएका संक्रमित र अरुलाइ छुट्टै राखिएको उनले जानकारी दिए । त्यस्तै २४ वेड क्षमताको गोरखा अस्पतालको आइसोलेसनमा पनि संक्रमितको संख्या घटेको छ ।
‘संक्रमित बढेका बेला २४ जनासम्म राखेर उपचार ग¥यौ, तर अहिले ३ जना मात्र छन्,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने । गण्डकी गाउँपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको १० बेड क्षमताको आइसोलेसनमा उपचाररत संक्रमित सबै डिस्चार्ज भइसकेका छन् । उक्त आइसोलेसन मा पाँच जना संक्रमित उपचाररत थिए ।
कोरोना संक्रमितको आहार ः दैनिक एउटा अण्डा, हप्ताको दुई छाक मासु
गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितलाई दैनिक चार पटक खान दिइन्छ । बिहान ७ बजे नास्ताको व्यवस्था हुन्छ । नास्तामा चना, अण्डा, दुध पाउरोटी लगायत हुन्छन् । बिहान १० बजे खाना उपलब्ध गराइने शाखा अधिकृत आचार्यले बताए । त्यस्तै दिनको २ बजे खाजा र वेलुकी ७ बजे खाना दिइने उनले जानकारी दिए । ‘दिनको एउटा अण्डा अनिवार्य हुन्छ, हप्तामा दुई पटक मासु दिन्छौ,’ उनले भने । संक्रमितका लागी वाइफाईको व्यवस्था समेत गरिएको उनले बताए ।