स्थानीय डकर्मीलाई तालिम
स्थानीय डकर्मीलाई तालिम
जिल्लामा डकर्मीलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ ।
स्वास्थ्य सुरक्षा अपनाउँदै बिभिन्न स्थानीय तहका करिव ५ सय भन्दा बढी डकर्मीलाइ तालिम प्रदान गरिएको हो । यूएनडिपी द्धारा संचालित नेपाल आवास पुननिर्माण परियोजनाले तालिम दिएको हो ।‘सुरक्षित निजी आवास निर्माणका लागी सहयोग पुग्ने उदेश्यले हालसम्म ५ हजार भन्दाबढी स्थानीय स्तरका डकर्मीलाइ तालिम दिइसकेका छौ,’ परियोजनाका जिल्ला इन्जिनियर विरेन्द्र श्रेष्ठले भने, ‘संकटासन्न तथा विपन्न घरमै गएर मिस्त्रिलाई तालिम दिने गरेका छौ ।’ दुइ नगरपालिका र ६ गाउँपालिका गरी कुल आठ स्थानीय तहमा तालिम संचालन गरिएको उनले बताए ।
परियोजनाका वरिष्ठ इन्जिनियर सन्तोष लामाका अनुसार तालिममा विशेष गरी राष्ट्रिय भवन निर्माण संहिता अनुसार ढुङ्गा माटो, इटाको गारो, प्रबलिकरण, वैकल्पिक प्रविधिबाट बन्ने घर लगायतको विभिन्न ढाँचामा सिकाउने गरिएको छ । तालिम मार्फत विशेष गरि निर्माणाधीन अवस्थामा रहेका संकटासन्न भूकम्प प्रभावित घरधनीलाई प्राविधिक सहजिकरण गरिएको उनको भनाइ छ ।
स्थानीय स्तरमै तालिम पाएपछि डकर्मीहरु पनि खुशी छन् । परियोजनाले जिल्लाका आठ स्थानीय तहको निजी आवास पुननिर्माणमा सामाजिक, प्राविधिक एवं प्रशासनिक सहजिकरण गर्दै आएको छ ।