लाप्राकमा शुरु भयो सामूहिक तरकारी खेती
लाप्राकमा शुरु भयो सामूहिक तरकारी खेती
धार्चे गाउँपालिका–४ लाप्राक स्थित ठुलो रिन्जिलुङमा सामूहिक तरकारी खेती शुरु गरिएकोे छ ।
दिगो जनसमृद्धि सामुदायिक कृषि केन्द्रले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेको हो ।
‘आधुनिक प्रविधिबाट बनेको दुई वटा हाइटेक प्लाष्टिक घर निर्माण गरेका छौ,’ केन्द्रका अध्यक्ष जित बहादुर गुरुङले भने, ‘प्लाष्टिक घर निर्माण देखि सिँचाइको व्यवस्था सबै गरी करिब २३ लाख खर्च भएको छ ।’
अहिले प्लाष्टिक घर भित्र काउली, बन्दा, व्रोकाउली, गोडभेडा, खुर्सानी लगायतका तरकारी लगाइएको उनले बताए ।
उत्पादित तरकारीलाई गाउँमै सहुलियत दरमा विक्रि वितरण गर्ने योजना रहेको उनको भनाइ छ । ‘नमूनाको रुपमा सामूहिक तरकारी खेती गरेका हौ, यो सफल भयो भने गाउँको आवश्यकता अनुसार समूह गठन गरी कार्यक्षमताको आधारमा प्लाष्टिक घर थप गर्दे जाने योजना छ,’ उनले भने ।
अध्यक्ष गुरुङका अनुसार लुथ्रौन वल्र्ट फिटिरेशनको आर्थिक सहयोग र सहास नेपालको प्राविधिक सहयोगमा हाइटेक प्लाष्टिक घर निर्माण भएको हो ।
सोहि स्थानमा कृषि ज्ञान केन्द्र गोरखाको एक लाख ७० हजार आर्थिक सहयोगमा अर्गानिक तरकारी उत्पादन गर्न प्लाटिक घर निर्माण गरिएको छ ।
तरकारी खेती विस्तार गर्दै गुप्सीपाखामा बसोवास गर्ने विपन्न घरपरिवारलाइ रोजगारी दिने योजना रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।