ट्राफिक कार्यालयको राजश्व ७२ लाख
ट्राफिक कार्यालयको राजश्व ७२ लाख
गत आर्थिक बर्ष २०७६÷७७ मा ट्राफिक कार्यालयले ७२ लाख ७ हजार राजश्व संकलन गरेको छ ।
कुल १० हजार १५० सवारीलाइ कारवाही गर्दा उक्त राजश्व संकलन भएको कार्यालयले जनाएको हो । सबैभन्दा बढी मोटरसाइकलबाट २१ लाख ८९ हजार राजश्व संकलन भएको कार्यालय प्रमुख मित्रलाल ढकालले बताए ।उनका अनुसार कुल २ हजार ९८३ मोटरसाइकल कारवाहीमा परेका थिए । ‘सवारी नियम उल्लघंन गर्ने २ हजार २५७ कार÷जिप कारवाहीमा परे, जरिवाना स्वरुप उनीहरुबाट १६ लाख ५४ हजार राजश्व संकलन भयो,’ उनले भने । कारवाहीमा पर्ने बस संख्या १ हजार १८९ रहेको बताउदै ढकालले उनीहरुबाट १४ लाख ९० हजार राजश्व संकलन भएको जानकारी गराए ।
उनका अनुसार गत आव १ हजार ७५० ट्रक÷टिपर कारवाहीमा परेका थिए । उनीहरुबाट १३ लाख ३९ हजार राजश्व संकलन भएको थियो । १ हजार ७४९ ट्याक्टरलाइ कारवाही गर्दा ११ लाख ८३ हजार राजश्व उठेको उनको भनाइ छ ।
अघिल्लो आर्थिक बर्ष २०७५÷७६ मा ट्राफिक कार्यालयले कुल ७२ लाख ३० हजार राजश्व संकलन गरेको थियो । १० हजार ६ सय सवारी कारवाहीमा परेका थिए । लक डाउनका कारण अघिल्लो आवको तुलनामा गत आव राजश्वमा केही कमी आएको कार्यालयले जनाएको छ ।
सवारी दुर्घटना दर घट्यो
जिल्लामा सवारी दुर्घटना दर घटेको छ । आर्थिक बर्ष ०७५÷७६ मा २८ वटा सवारी दुर्घटनामा परेपनि गत आव २०७६÷७७ मा सवारी दुर्घटना संख्या १६ रहेको कार्यालयले जनाएको हो ।
‘अघिल्लो आव ०७५÷७६ मा सवारी दुर्घटनाकै कारण १४ जनाको ज्यान गयो, ५५ जना घाइते भए,’ जिल्ला ट्राफिक इन्चार्ज ढकालले भने, ‘गत आव २०७६÷७७ मा ज्यान गुमाउने ७ जना रहे, ४७ जना घाइते भए ।’
ट्राफिक सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएसँगै दुर्घटना दर घटेको उनले बताए । उनका अनुसार गत आव व्यवसायिक चालक परिचालक तथा सुरक्षित चालक बनाउन कक्षा संचालन सँगै अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिएको थियो ।
‘जनचेतनामूलक कार्यक्रमलाइ तिव्रता दिदै आएका छौ, सडकमै गएर चालक सहचालकलाई कक्षा पनि लिने गरेका छौ,’ उनले भने । जनचेतनाका लागी ट्राफिक नियम सम्बन्धी पर्चा पम्प्लेट र पोष्टर समेत वितरण गरिएको उनको भनाइ छ । अवका दिनमा चेकजाँचमा पनि थप कडाइ गरिने उनले बताए ।
३४ लाइसेन्स प्वाल पारियो
गोरखा ः गत आव २०७६÷७७ मा ट्राफिक कार्यालयले ३४ वटा सवारी लाइसेन्स प्वाल पारेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेको लाइसेन्स प्वाल पारिएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए । ‘मापसे गरेर सवारी चलाउने ८२ जना थिए, ३४ जनाको मात्र लाइसेन्स रहेछ, लाइसेन्स हुने सबैको प्वाल पा¥यौ, लाइसेन्स नहुनेलाइ सोही अनुसार कारवाही ग¥यौ,’ उनले भने ।