पालुङटार बिमानस्थल संचालन हुने
पालुङटार बिमानस्थल संचालन हुने
नेपाल नागरिक उड्डयन प्राधिकरणले पालुङटार बिमानस्थल स्तरोन्नती गरेर संचालन गर्ने तयारी गरेको छ ।
स्तरोन्नतीका लागी ३ करोड १७ लाख ५० हजार रकम छुट्याइएको प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।
‘बिमानस्थलको धावन मार्ग स्तरोन्नती कार्यक्रम अन्तरगत उक्त रकम छुट्याइएको हो,’ उनले भने, ‘काष्ठमाण्डप कन्स्टूक्सन प्रालिसँग असार ३१ गते ठेक्का सम्झौता भइसक्यो ।’ सम्झौता अनुसार आगामी असार मसान्तसम्म काम सक्नुपर्नेछ ।
‘रन वे लाइ सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्छाै, एयरपोर्ट वरपर चेन लिंक फेन्स (एयरपोर्ट क्षेत्रमा लगाइने तारवार) लगाउँछौ,’ उनले भने । तारवार लगाएसँगै पशुचौपाया छिर्न नसक्ने उनले बताए ।
बिमानस्थलको अतिक्रमित जग्गामा डोजर लगाइने उनले जानकारी दिए । ‘यो बहुबर्षीय योजना हो, अहिलेको बजेटले छोटो दुरीका साना जहाज उडान गर्न मिल्ने गरी स्तरोन्नती गर्छाै, पछि रकम थप्दै स्तरोन्नती हुदै जानेछ,’ उनले भने ।
करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बिमानस्थलमा २०३५ सालसम्म विमान उडान र अवतरण हुदै आएको बताइएको छ । लामो समय देखि वन्द रहेको बिमानस्थल संचालनमा आउने भएपछि स्थानीय पनि खुशी छन् ।