अनलाइन मार्फत भूकम्प पीडितको उजुरी सुनुवाई
अनलाइन मार्फत भूकम्प पीडितको उजुरी सुनुवाई
लाभग्राही सूचीमा समावेश हुन पाउँ भन्दै पुनरावेदन गरेका जिल्लाका भूकम्प पीडितहरुको अनलाइन वयान शुरु भएको छ ।
बुधवार राष्ट्रिय पुननिर्माण प्राधिकरण पुनरावेदन समितिले भिडियो कन्फेरेन्स मार्फत २८ जनाको वयान लिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय गोरखाले जनाएको छ ।
‘यही कार्यालयमा आएर उहाहरुले भिडियो कन्फेरेन्स मार्फत वयान दिनुभएको हो,’ कार्यालयको पुनरावेदन शाखाका राजकुमार ढकालले भने, ‘लाभग्राही कायम हुने नहुने एक÷दुइ दिनमा फैसला भएर आउछ ।’ उनका अनुसार यस अघि वयानका लागी काठमाण्डौको सिंहदरवार धाउनुपथ्र्याे ।
तर समितिले उजुरीहरुको अनलाइन सुनवाई सेवा थालेपछि भूकम्प पीडितहरुले जिल्लावाटै वयान दिन पाउने भएका हुन् । कार्यालयको तथ्याङ्क अनुसार लाभग्राही कायम गरी पाउँ भन्दै जिल्लाका ६ सय ६८ जनाले पुनरावेदन गरेका छन् ।
उनीहरु मध्य करिव दुइ सय जनाको फैसाल भइसकेको ढकालले बताए । ‘दुइ सय जनाको फैसला हुदाँ २० जना लाभग्राही कायम भएर आए, बाँकी लाभग्राहीमा परेनन्,’ उनले भने ।
उनका अनुसार पुनरावेदन समितिले पेशी तोकेर वयान दिनेको नामावली कार्यालयलाई पठाउँछ । स्थानीय तहसँग समन्वय गरेर कार्यालयले वयानका लागी भूकम्प पीडितलाई खवर गर्छ ।
‘स्थानीय तहमार्फत हामीले खवर गरेपछि उहाहरु कार्यालय आउनुहुन्छ र एक÷एक जना गरी अनलाइनबाट वयान दिनुहुन्छ,’ उनले भने । वुधवार कुल ४३ जनाको पेशी तोकिएको थियो । तर २८ जना मात्र सहभागी भए ।
सहभागी नभएकाहरुको फाइल अध्ययन गरेर फैसला गरिने कार्यालयले जनाएको छ । ‘१० हजार २३८ जना गैर लाभग्राही हुनुभयो भनेर हामीले पत्राचार गरिसकेका छौ, अव उहाहरुले पनि पुनरावेदन गर्नुभयो भने संख्या बढ्छ,’ ढकालले भने ।