मास्क नलगाउनेलाई प्रशासनले थाल्यो कारवाही
मास्क नलगाउनेलाई प्रशासनले थाल्यो कारवाही
बिहीवार जिल्लामा विना मास्क हिडँडुल गर्ने ५३ जना कारवाहीमा परे ।
सदरमुकामको बिभिन्न ठाउँबाट उनीहरुलाइ प्रहरीले नियन्त्रणमा लियो । मास्क नलगाउनेमा अन्यत्रबाट काम बिशेषले बजार आउने देखि सदरमुकाम आसपास घर भएका सम्म थिए । उनीहरुलाइ कारवाहीका लागी प्रशासन कार्यालय पठाइयो ।
कार्यालयले संक्रामक रोग ऐन २०२० अन्तर्गत उनीहरुलाइ प्रति व्यक्ति एक सय रुपैया जरिवाना गरायो । केही समयको प्रशिक्षण पश्चात आगामी दिनमा मास्क लगाउने प्रतिवद्धता सहित उनीहरुलाइ छाडियो ।
मास्क अनिवार्य गराउन बिशेष अभियान संचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङ बताउछन् । ‘मोवाइल गाडीमा गस्ती पनि गर्छाैै, विभिन्न ठाउँमा ड्युटीमा खटिएका प्रहरीहरुले पनि निरिक्षण गर्छन्,’ उनले भने, ‘मास्क नलगाएको भेटिएमा नियन्त्रणमा लिन्छौ ।’
मास्कको प्रयोगमा कडाइ गर्न गृह मन्त्रालयले निर्देशनगरे सँगै जिल्लामा पनि कडाइ गरिएको उनले बताए ।
‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले गरिएको लक डाउन केही दिन अघि अन्त्य भएता पनि स्वास्थ्य सुरक्षा सतर्कताको लागी सामाजिक दुरी कायम गर्ने र अनिवार्य मास्कको प्रयोग गर्ने भन्ने निर्देशन छ, त्यसलाई कार्यान्वयन गरेका हौ,’ उनले भने । आफू स्वयम फिल्डमा खटेर मास्क नलगाउनेलाई नियन्त्रणमा लिएको एसपी गुरुङले जानकारी दिए ।
कारवाहीमा पर्नेको गुनासो ः चोर जस्तो व्यवहार गरियो
बिहीवार कारवाहीमा परेकाहरुले विना सूचना कारवाही गरेको भन्दै गुनासो गरेका छन् । पूर्व जानकारी नगराइ प्रशासन एक्कासी कारवाहीमा उत्रिएको भन्दै उनीहरुले दुखेसो व्यक्त गरे । ‘पहिले सूचना जारी गरेर मास्क लगाउनुहोस् नभए कारवाही गर्छाै भनेर पूर्व जानकारी गराउनुपथ्र्याे,’ कारवाहीमा पर्ने मध्यका एक व्यक्तिले भने, ‘एक्कासी समात्दै ल्याएर कारवाही गर्दा नमज्जा लाग्यो ।’
पूर्व जानकारी पाएको भए आफूहरु सचेत हुने उनले बताए । ‘पहिलो पटक हो, सम्झाइ बुझाइ गरेर पठाएको भए भइहाल्थ्यो, चोरलाइ जस्तै समातेर ल्याएर कारवाही नै गरिहाल्नुपर्ने थिएन,’ कारवाहीमा परेका अर्का व्यक्तिले भने । प्रहरी प्रशासनले भने आफूहरुले सार्वजनिक सूचना मार्फत बारम्वार सचेत गराउदै आएको जनाएको छ ।
प्रशासन आक्रामक बन्यो ः मानवअधिकारकर्मी
प्रशासन आक्रामक रुपमा प्रस्तुत भएको मानवअधिकारकर्मीहरुले बताएका छन् । कारवाहीको अलावा सामान्य सम्झाइ बुझाइ गरेर पठाएको भए उपयुक्त हुने उनीहरुको धारणा छ
। ‘कारवाहीमा पर्नेहरु अधिकांश गाउँबाट आएका सामान्य व्यक्ति थिए,’ मानव अधिकार संजालका संयोजक यदु अधिकारीले भने, ‘कारवाही भन्दा पनि पहिलो पटक सामान्य सम्झाइ बुझाइ गरेर पठाएको भए प्रशासनको लोकप्रियता पनि बढ्थ्यो ।’
कानून कार्यान्वयन गराउने कुरा सकारात्मक भएपनि प्रशासन आक्रामक देखिनु नकरात्मक भएको मानव अधिकार तथा शान्ति समाजका जिल्ला उपाध्यक्ष सिताराम तिवारीले बताए । ‘कानून कार्यान्वयन गराउने कुरालाइ नकरात्मक लिन त मिल्दैन, तर अलिकति व्यवहारिकता पनि हेरिदिएको भए हुन्थ्यो,’ उनले भने ।
के भन्छन् प्रजिअ ?भरखरै मात्र सरुवा भएर गोरखा आएका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले नागरिकलाइ सचेत गराउन कारवाही प्रक्रिया थालिएको बताए । ‘नागरिककै स्वास्थ्यका लागी यस्तो गरेका हौ, मास्क लगाएर हिड्नुपर्छ भन्ने पाठ पनि हुन्छ,’ उनले भने । सरकारको निर्देशन पालना गर्नु कर्तव्य भएको भन्दै त्यसमा अन्यथा नलिन उनले आग्रह समेत गरेका छन् ।