व्युटी पार्लर व्यवसायीमा देखियो कोरोना
व्युटी पार्लर व्यवसायीमा देखियो कोरोना
गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी एक व्यवसायीमा कोरोना देखिएको छ ।
व्यूटी पार्लर संचालन गर्दै आएकी २४ बर्षीया महिलामा सोमवार संक्रमण पुष्टी भएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए । ‘यही साउन १५ गते साथीहरुसँग काठमाण्डौ जाने क्रममा नागढुङ्गामा पिसिआर परिक्षण भएको रहेछ,’ उनले भने, ‘हिजो रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखियो ।’ संक्रमितलाइ उपचारका लागी गोरखा अस्पतालको आइसोलेसनमा ल्याइसकिएको उनले बताए ।
यो सँगै जिल्लामा संक्रमितको संख्या १ सय ७ पुगेको छ ।
अर्यालका अनुसार साउन १५ गते संक्रमित महिला सहित अन्य तीन जना ट्याक्सी रिजर्भ गरेर काठमाण्डौ गएर सोही दिन गोरखा फर्किएका थिए । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ शुरु भएको छ । मंगलवार संक्रमितको सम्पर्कमा आएकामध्य ५० जनाको पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएको जनस्वास्थ्य निरिक्षक अर्यालले बताए ।‘३८ महिला र १२ पुरुषको नमूना संकलन ग¥यौ,’ उनले भने, ‘उनीहरु संक्रमितको आफन्त र साथीहरु हुन् ।’ संकलन गरिएको स्वावको नमूना आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने उनले जानकारी दिए ।
उनका अनुसार तीन चरणमा कन्ट्याक्ट ट्रेसिङ गरिने छ । ‘पहिलो चरणमा संक्रमितको सम्पर्कमा आएका परिवार र नजिकका साथीहरुको पिसिआर ग¥यौ, उनीहरुमध्य धेरैको रिपोर्ट पोजेटिभ आयो भने परिक्षणको दायरा अलि फराकिलो बनाएर मानिसको भिड हुने ठाउँहरुलाई स्क्रिनिङ गर्छाै,’ अर्यालले भने ।
वडा कार्यालयको सेवा बन्द
स्थानीय व्यवसायीमा कोरोना देखिएसँगै गोरखा नगरपालिका वडा नम्वर ९ को कार्यालयबाट उपलब्ध हुदै आएको सबै सेवा बन्द गरिएको छ । मंगलवार सार्वजनिक सूचना जारी गर्दै अर्काे सूचना नआएसम्मका लागी सम्पूर्ण सेवा वन्द गरिएको कार्यालयले जनाएको हो ।
‘कोरोना देखिएपछि जोखिम पनि बढ्यो, फेरी कोरोना पुष्टी भएका व्यवसायीसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम गर्नुपर्ने भएकाले पनि तत्कालका लागी सेवा बन्द गरेका हौ,’ वडाध्यक्ष कुल बहादुर कुवँरले भने ।