अस्पतालको आइसोलेसन गोरखा क्याम्पस सारियो
अस्पतालको आइसोलेसन गोरखा क्याम्पस सारियो
कोरोना संक्रमितको उपचार जिल्ला अस्पतालमा नहुने भएको छ ।
अव देखि सबै संक्रमितको उपचार गोरखा क्याम्पसको आइसोलेसन केन्द्रमा गरिने अस्पतालले जनाएको हो ।
संक्रमितको उपचारका लागी बिशेषज्ञ चिकित्सक डा. सन्तोष बास्तोलाको नेतृत्वमा चिकित्सक टोली गठन भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । व्यवस्थापनको सम्पूर्ण पक्ष अस्पतालले हेर्ने उनले जानकारी दिए । उनका अनुसार क्याम्पसको आइसोलेसन अव अस्पताल मातहत रहने छ ।
गत बिहीवार बसेको जिल्ला स्तरिय कमाण्ड पोष्टको बैठकले ७६ वेडको गोरखा क्याम्पस आइसोलेसन व्यवस्थापनको सम्पूर्ण जिम्मा अस्पताललाई दिने निर्णय गरेको थियो । ‘अव त्यो अस्पतालकै आइसोलेसन वार्ड हो,’ ढकालले भने, ‘कोरोना संक्रमितको उपचारका लागी भनेर अस्पतालमा छुट्टै आइसोलेसन रहदैन ।’
दुइ तिर आइसोलेसन वार्ड संचालन गर्दा जनशक्ति अभाव हुने र खर्च बढी लाग्ने उनले बताए । ‘दुइ तिर आइसोलेसन वार्ड संचालन गर्दा जनशक्ति बढी चाहियो, फेरी खर्च पनि दोहोरो हुने भयो, एकै ठाउँमा गर्दा जनशक्ति र खर्च दुवै कम लाग्ने भयो,’ उनले भने ।
संक्रमित रहेकै कारण सामान्य उपचारका लागी बिरामीहरु अस्पताल आउन डराएको र महँगो रकम तिरेर निजि अस्पताल तथा मेडिकलमा उपचार गर्न बाध्य भएको उनले बताए ।
‘अहिले माइनर अपरेशन मात्र गर्दै आएका थियौ, अव मेजर अपरेशन पनि गर्ने तयारी गर्दैछौ, त्यसैले कोरोना बिरामीको उपचार अस्पतालमा नगर्ने भनेका हौ,’ उनले भने । गोरखा क्याम्पसको आइसोलेसन अस्पतालाई हस्तान्तरण भइसकेको अस्पताल व्यवस्थापन समिति सदस्य एवं आइसोलेसन व्यवस्थापन समिति संयोजक गोवद्र्धन श्रेष्ठले बताए ।
‘शनिवार पालुङटारका तीन जना कोरोना संक्रमितलाइ क्याम्पसको आइसोलेसनमा राखेर उपचार समेत शुरु गरिसकेका छौ,’ उनले भने, ‘अव देखि सबै संक्रमितको उपचार यही हुन्छ ।’
हाल अस्पतालको आइसोलेसनमा उपचाररत सात जना संक्रमितलाइ भने कता राख्ने भन्ने एकिन भइनसकेको अस्पतालका सूचना अधिकारी ढकालले बताए । ‘अव भोली उनीहरुमध्य अधिकांशको रिपोर्ट आउँदै छ, धेरैको पोजेटिभ देखियो भने उनीहरुलाइ पनि क्याम्पसमै सार्छाै, धेरैको नेगेटिभ आयो भने नेगेटिभ आउनेलाइ घर पठाउँछौ र बाँकीको यतै व्यवस्थापन गर्छाै,’ उनले भने । संक्रमितको उपचार क्याम्पसकै आइसोलेसनमा गरिने भएपछि अस्पतालमा संक्रमणको जोखिम कम हुने उनले बताए ।