बर्खामा पनि रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
बर्खामा पनि रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
नदीजन्य पदार्थको अवैध उत्खनन गर्न पल्केकाहरुले बर्खामा पनि नदी उत्खनन गर्न छाडेका छैनन् ।
गोरखा नगरपालिका–१० ठुटेबजार कन्याढाप झोलुङ्गे फाँटमा रहेको दरौदी नदीमा अहिले पनि धमाधम अवैध उत्खनन भइरहेको छ ।‘ढुङ्गा, गिटी तथा वालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ अनुसार जेठ मसान्त देखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइदैन । तर नियम कानून लत्याउदै स्थानीय सरकार र प्रहरी प्रशासनलाइ समेत हवाल दिएर ठेकेदारहरु दिनरात उत्खननमा तल्लिन छन् । दिनमा भन्दा रातको समयमा उत्खनन बढी हुने गरेको स्थानीयहरु बताउछन् ।
‘अव मान्छे सुत्यो भन्ने भएपछि राती ११ बजेतिर खोलामा ट्याक्टर र टिपरको लाइन हुन्छ,’ स्थानीय सुरजमान कुमालले भने, ‘बिहान ३ बजेसम्म जेसिभि लगाएर चोरी निकासी भइरहन्छ ।’
उनका अनुसार रातभर उत्खनन गरेर थुपारिएको गिटी वालुवा बिहान मात्र ओसार पसार हुन्छ । ‘चोरी निकासी गरेको थाहा नहोस् भनेर गाडीको हेडलाइट बन्द गर्छन् अनि रातभर ओसारछन्, आवाजले सुत्नै सकिदैन,’ उनले भने । अवैध उत्खनन भइरहेको ठाउँ बाह्र किलो प्रहरी चौकीबाट प्रष्ट देखिन्छ । रातको समयमा चोरी निकासी गर्न सलवलाउने ट्याक्टर टिपर र जेसिभिको आवाज पनि प्रष्टै चौकीसम्म पुग्छ ।
तर दिनरात अवैध उत्खनन भइरहेको सो ठाउँमा प्रहरीको उपस्थिती नदेखिने स्थानीयहरु बताउछन् । ‘प्रहरीलाइ खवर गरेपनि खासै आउदैनन्, आएपनि केही गर्न सक्दैन, यसमा प्रहरी प्रशासनकै मिलेमतो छ जस्तो देखिन्छ,’ कुमालले भने ।
चोरी निकासीमा पल्केकाहरुले दरौदी नदिमा लगाइएको तटवन्धनको ढुङ्गा समेत चोरेर लगेको वडा नम्वर ११ का स्थानीय उमेश वानियाले बताए ।
तारजाली काटेर ढुङ्गा चोरेर लगेको उनले जानकारी दिए । उनका अनुसार वडा नम्वर १० देखि १२ सम्मको दरौदी नदि किनारमा अवैध उत्खनन हुने गरेको छ । अवैध उत्खननकै कारण झोलुङ्गेफाँट कुलोमा पानी नचढेको वडा नम्वर ११ का स्थानीय दिल बहादुर भण्डारीले बताए ।
‘ठेक्का लागेको बेला त मनलाग्दी नदी उत्खनन गरे तर अहिले पनि धमाधम गरिरहेका छन्,’ उनले भने, ‘जथाभावि उत्खनन गरिदिदा कुलो भन्दा नदि गहिरो भएर कुलोमा पानी चढ्नै छाड्यो ।’ सिंचाइ अभावका कारण ठुटेबजार देखि नन्दकिशोरी सम्मको करिव १७ सय रोपनी खेतमा धान फलाउन समस्या भएको उनले गुनासो गरे ।
‘बर्षेनी डेढ दुइ लाख खर्चेर कुलो मर्मत गर्दै खेतमा सिंचाइ गर्ने गरेका थियौ, यो बर्ष कुलोभन्दा ६ मिटर तल खोला गयो, पानी चढाउनै सकिएन,’ उनले भने । असार १ गते पछाडी कुनै पनि नदिमा उत्खननका लागी अनुमति प्रदान नगरेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकाल बताउछन् । तर वडा नम्वर १० स्थित दरौदी नदिमा धमाधम भइरहेको अवैध उत्खननबारे उनले अनविज्ञता प्रकट गरे ।
अनुगमन समित छ तर अनुगमन छैन
नदीजन्य तथा खनिजन्य पदार्थको उत्खननको अनुगमनका लागी जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्ला अनुगमन समिति छ । जसको सदस्यहरुमा सम्बन्धित स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, डिभिजन वन कार्यालयका प्रमुख लगायतका छन् ।
त्यस्तै अनुगमनकै लागी नगर उपप्रमुखको संयोजकत्वमा गोरखा नगरपालिका मा नगर स्तरिय अनुगमन तथा फरफारक समिति पनि छ ।
तर अनुगमन समिति भएपनि अनुगमनको पाटो भने फितलो छ । अनुगमन नभएको धेरै समय भइसकेको जिल्ला समन्वय समिति प्रमुख अशोक गुरुङले बताए । ‘समितिको बैठक पनि नबसेको धेरै भयो, अनुगमन पनि भएको छैन, अव गर्नुपर्ला,’ उनले भने ।
अवैध उत्खनन पूर्ण रुपमा नियन्त्रण गर्न कडाइका साथ लाग्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइ बताउछन् । ‘यो समयमा खोला उत्खनन गर्न पाइदै पाइदैन, उत्खनन भइरहेको छ भन्ने गुनासो मसँग पनि आएको छ, अव जिसस प्रमुखसँग समन्वय गरेर अनुगमनलाइ पनि निरन्तरता दिन्छौ, अवैध उत्खनन गर्नेलाइ कानूनी कारवाही पनि गर्छाै,’ उनले भने । निगरानीका लागी प्रहरी प्रशासनलाइ निर्देशन दिइसकेको उनले जानकारी दिए ।
अनुगमन समिति सक्रिय नहुँदा अवैध धन्दा मौलाएको हो ।