नदीजन्य पदार्थ अवैध उत्खनन् गर्नेलाई भएन कारवाही
नदीजन्य पदार्थ अवैध उत्खनन् गर्नेलाई भएन कारवाही
नियम कानूनलाइ लत्याउदै नदीजन्य पदार्थको अवैध उत्खनन् गर्नेलाइ बिना कारवाही छाडिएको छ ।
गोरखा नगरपालिका–१० ठुटेबजार कन्याढाप झोलुङ्गे फाँट स्थित दरौदी नदीमा अवैध उत्खनन भइरहेपनि प्रहरी र प्रशासनले कारवाही गर्न सकेको छैन । उत्खननमा संलग्न रहेको भन्दै प्रहरीले गोरखा नगरपालिका(१० छेवेटारका मिलन खड्कालाई नियन्त्रणमा लियो ।
तर प्रमाण नपुगेको वहाना बनाउँदै प्रहरीले केही क्षणमै खड्कालाइ छाडिदियो ।
‘उसकै जेसिभी र ट्याक्टर उत्खननमा प्रयोग भएको भन्ने सूचनाको आधारमा सोधपुछका लागी बोलाएका थियौ,’ एसपी सुरेन्द्र बहादुर गुरुङले भने, ‘एक पटकलाई सम्झाइ बुझाइ गरी अव यस्तो नगर्नु भनेर वडा नम्वर १० का अध्यक्ष देवि बहादुर बस्नेतको जिम्मा लगाएर पठायौ ।’ खड्का वडाध्यक्ष बस्नेतका भान्जा हुन् ।
अवैध उत्खनन भएका स्थान नजिकै रहेको ठुटेबजार चौतारमा खड्काले नदिजन्य पदार्थ डम्पिङ गरेर राखेका छन् । खड्काका अनुसार नगरपालिकाले ठेक्का खुलाएको समयमा उत्खनन गरेको गिटी वालुवा डम्पिङ गरेर राखिएको हो । तर नगरपालिकाका सूचना अधिकारी प्रकाश ढकालले भने यो बर्ष उक्त क्षेत्रमा ठेक्का लागेपनि नदीजन्य पदार्थको उत्खनन नभएको बताउछन् ।
‘त्यो घाटमा नदीजन्य पदार्थ उत्खनन गर्ने ठेक्का नवकान्तिपुरले पाएको हो, तर यो बर्ष उसले उत्खनन गरेन,’ ढकालले भने । सार्वजनिक स्थलमा डम्पिङ गर्नका लागी स्थानीय तहको अनमति आवश्यक छ ।
सो क्षेत्रमा डम्पिङ गर्नका लागी नगरपालिकाले कुनै पनि अनुमति नदिएको ढकाल बताउछन् । तर रातारात अवैध उत्खनन गरेका गिटी, वालुवा र ढुङ्गा सोही ठाउँमा डम्पिङ गरेर राखिएको छ ।
डम्पिङका लागी स्थानीय तहसँग अनुमति नलिएको खड्का स्वयम स्वीकार गर्छन् । डम्पिङमा थुपारिएका नदीजन्य पदार्थ बिहान ओसार पसार गर्ने गरेको स्थानीय बताउछन् । प्रहरी प्रशासनकै मिलेमतोमा उत्खनन भइरहेको स्थानीयको आरोप छ ।
दिनरात अवैध उत्खनन भएपनि अनुगमन समितिले अनुगमन गर्ने चेष्टा गर्न सकेको छैन ।अनुगमन गरौला भन्दै भाका सार्दै आएको समितिले अवैध उत्खननलाई प्रश्रय दिइरहेको छ । लामो समयम सम्म समितिको बैठकसमेत बस्न नसकेको जिल्ला अनुगमन समिति संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख अशोक गुरुङले स्वीकार गरेका छन् ।
‘स्थानीय तहले हेर्नुपर्ने हो तर वास्ता गरेको छैन,’ उनले भने । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने आज बैठक बोलाएर अनुगमन गर्ने आश्वासन दिएका छन् । ‘मैले जिसस प्रमुखलाइ बैठक बस्न भनेको छु, अव बैठक बसेर अनुगमन गर्छाै, प्रहरीलाइ मैले त्यहा ड्युटी खटाउन भनिसकेको छु,’ उनले भने । संचार माध्यममा समाचार आएपछि गोरखा नगरपालिकाबाट उक्त क्षेत्रमा मंगलवार अनुगमन भएको छ ।
‘गिटी वालुवा निकालेको छ तर कसले निकाल्यो भन्ने थाहा भएन, डम्पिङ गरेर राखेको सामान पनि कस्को हो भन्ने एकिन भएन, मैलै प्रजिअ, प्रहरी प्रशासन सबैलाइ जानकारी गराइसके, भोली नगरप्रमुखलाइ अनुगमन प्रतिवदेन बुझाउछु,’ अनुमगन समिति संयोजक एवं गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठले भनिन् ।
यो समयमा कुनै पनि हालतमा उत्खनन गर्न नपाइने उनले बताइन् । ग्राभेल सम्बन्धी वडाध्यक्षलाइ कुनै अधिकार नभएको भन्दै नगर प्रमुखले भनेपछि आफूले वेवास्ता गरेको वडा नम्वर १० का अध्यक्ष देवी बहादुर बस्नेत बताउछन् । ‘अघिल्लो बर्ष पनि राती राती ग्राभेल उठाएको छ भनेर मैले प्रहरीलाइ भने तर वास्ता गरेनन्, मेयरलाइ भन्दा तपाइको अधिकार होइन भने त्यसपछि मैले बौल्नै छाडिदिए,’ उनले भने ।
ठुटेबजारमा डम्पिङ गरिएको नदिजन्य पदार्थबारे आफूले चासो नराखेको उनले बताए । अवैध उत्खननमा संलग्न रहेका मिलन खड्काले भने ठुटेबजारमा डम्पिङ गरेर राखेको ग्राभेल आफ्नै भएको स्वीकार गरेका छन् ।
यसअघि ठेक्का पारेर उत्खनन गरेको बताएका उनले पछिल्लो समयमा व्यक्तिको जग्गाको ग्राभेल उत्खनन गरेको भन्दै कुरा फेरे । ‘पालुङटार नगरपालिकालाई राजश्व तिरेर पारी रहेको व्यक्तिको जग्गाबाट उत्खनन गरेर ठुटेबजारमा थुपारेको हुँ,’ उनले भने । तर सार्वजनिक स्थलमा डम्पिङ गर्नका लागी स्थानीय तहसँग कुनै अनुमति नलिएको उनले बताए । ‘मेरो ग्राभेल मात्र हो ढुङ्गा वालुवा अरुले थुपारेका हुन्, मेरो होइन,’ उनले भने ।