३६ लाख खर्चेर छेवेटारमा हरित पार्क
३६ लाख खर्चेर छेवेटारमा हरित पार्क
गोरखा नगरपालिका–१० महादेवटारी छेवेटारमा शहरी हरित पार्क निर्माण भएको छ ।
डिभिजन वन कार्यालयको हरित वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण कार्यक्रम अन्तरगत पार्क निर्माण गरिएको कार्यालयले जनाएको हो ।
‘पार्क निर्माणका लागी ३० लाख रकम विनियोजन भएको थियो,’ डिभिजनल वन अधिकृत तोयनाथ पौड्यालले भने, ‘महादेवस्थान संरक्षण तथा बिकास समिति मार्फत काम गरायौ ।’ ६ लाख रकम बराबरको श्रमदान समितिले गरेको उनले बताए ।
उनका अनुसार लट्टेश्वर महादेव मन्दिर अवस्थित करिव २५ रोपनी जग्गामा पार्क निर्माण गरिएको हो । ‘त्यो समितिकै जग्गा रहेछ, त्यहा चिल्ड्रेन ग्राउण्ड, गोल घर, स्लाइड लगायतका संरचना निर्माण गरेका छौ,’ उनले भने ।
उक्त क्षेत्रमा अशोका, म्याङ्गो स्टिन, कपुर, गुल्मर, धुपी लगायतका करिव दुई सय विरुवा समेत रोपिएको उनले जानकारी दिए । ‘हरित पार्कका लागी आवश्यक पर्ने यी सदावहार रुखहरु हुन्, त्यसैले पार्क क्षेत्रमा उक्त रुखका विरुवाहरु रोपेका हौ,’ डिभिनजल वन अधिकृत पौड्यालले भने ।
उनका अनुसार सो क्षेत्रमा रहेका केही सिसौका बोटहरु काटेर पार्क निर्माण गरिएको हो । यसले पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्ने अपेक्षा गरिएको छ ।