स्वास्थ्य कार्यालयको स्वास्थ्य सुरक्षामा लापरवाही:न हात धुने ठाउँ, न कर्मचारीको कोरोना परिक्षण
स्वास्थ्य कार्यालयको स्वास्थ्य सुरक्षामा लापरवाही:न हात धुने ठाउँ, न कर्मचारीको कोरोना परिक्षण
कोरोनाका बिरामी थपिएर जिल्लामा संक्रमणको जोखिम बढिरहेपनि स्वास्थ्य कार्यालयले भने स्वास्थ्य सुरक्षा मापदण्डमा लापरवाही गर्दै आएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणमा उल्लेख्य भूमिका निर्वाह गर्न नसकेको कार्यालयले हालसम्म कार्यालय परिसरमा हात धुने ठाउँको व्यवस्था समेत गर्न सकेको छैन ।जिल्लाका अन्य सरकारी कार्यालय प्रवेश गर्नु पूर्व सावुन पानीले हात धुने व्यवस्था छ । तर जिल्लाका स्वास्थ्य संस्थाहरुको नेतृत्व गर्ने स्वास्थ्य कार्यालयले यसमा वेवास्ता गर्दै आएको छ ।
‘कार्यालय परिसरमा हात धुने ठाउँको व्यवस्था छैन ?’ भन्ने प्रश्नको लज्जास्पद उत्तर दिदै कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले भने, ‘कार्यालयको माथि बाथरुममा सावुन पानी छ, त्यही गएर हात धुन मिल्छ ।’ कार्यालय प्रवेश गर्ने ढोकामा सधै सेनिटाइजर हुने उनले दावी गरे ।
तर, बिहीवार कार्यालय पुग्दा सेनिटाइजर देखिएन । कार्यालय प्रवेश गर्ने ढोकामा राखिने सेनिटाइजरको बोत्तल पनि अधिकांश समय खाली हुने गरेको स्रोत बताउँछ । ‘न सेनिटाइजर न हात धुने ठाउँ, यसरी त संक्रमणको जोखिम बढी हाल्छ नी !’ स्रोत भन्छ ।
कार्यालयले कर्मचारीको पिसिआर परिक्षणमा समेत ध्यान दिएको छैन । ल्यावमा काम गर्ने वाहेकका अन्य कर्मचारीको पिसिआर परिक्षण नभएको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन् ।
‘सुमदाय स्तरमा कार्यक्रम गर्नुपर्छ, कहिलेकाही छलफलहरु चलाउनुपर्छ, जोखिम छ, तर अहिलेसम्म हाम्रो कोरोना परिक्षण भएको छैन,’ एक कर्मचारीले भने । स्वास्थ्य क्षेत्रका कर्मचारी संक्रमणको जोखिममा रहेकाले पिसिआर गरिनुपर्ने उनको भनाइ छ ।
तर कार्यालयका सूचना अधिकारी न्यौपानेले आवश्यक परेको दिन पिसिआर गर्ने भन्दै आलटाल गरे । आफूहरु संवेदनशिल र सुरक्षित भएको उनको दावी छ ।
फोन नउठाउने कार्यालय प्रमुख
स्वास्थ्य कार्यालयकी प्रमुख बिद्या तामाङको अधिकांश समय फोन उठ्दैन । आवश्यक सूचना वा काम बिशेषले कार्यालय समयमा फोन गर्दा पनि उनले वेवास्ता गर्ने गरेको गुनासो अधिकांशको छ ।
कार्यालय प्रमुखको भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्न नसक्ने उनीमाथि कोरोना महामारीमा पनि सक्रिय भएर काम गर्न नसकेको आरोप छ । कार्यालय प्रमुखको गैरजिम्मेवारपन प्रति कर्मचारीहरु पनि रुष्ट छन् ।
समन्वय र सहकार्य गर्नुपर्ने कार्यालय प्रमुखमा नै समन्वयको अभाव हुदाँ समस्या भएको हो ।