काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य
काठमाडौं उपत्यका प्रवेशका लागि पीसीआर नेगेटिभ अनिवार्य
काठमाडौं उपत्यका प्रवेश गर्न कोरोना संक्रमण परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गर्दै अत्यावश्यक कामका लागि काठमाडौं उपत्यका प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्ने व्यवस्था गरेका छन् ।
‘अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ’ आदेशमा भनिएको छ ।
औषधि, खाद्यवस्तु, पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल आउने जाने बिरामी, दाहसंस्कारका लागि अनिवार्य सहभागी हुनुपर्नेजस्ता कामलाई सरकारले अति आवश्यक सेवामा राखेको छ ।
प्रशासनको निर्णयअनुसार यी कामका लागि काठमाडौं आउनेले पनि अनिवार्य पीसीआर नेगेटिभ भएको हुनुपर्नेछ । अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारी साधन, निर्माण सामग्री बोकेका सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने सवारी काठमाडौंलाई उपत्यका प्रवेश गर्न पाउनेछन् ।