मानवीय मूल्यका सार्वभौम धारणा
मानवीय मूल्यका सार्वभौम धारणा
सुनील अर्याल
मानिस सर्वश्रेष्ठ प्राणी हो किन भने उ सँग विचार, बुद्धि, विवेक, माया, सम्वेदना, अनुभव, अनुभूति, हार्दिकता, विद्वता, वीरता, उद्यमशीलता, सिर्जनशीलता, अध्ययन, चिन्तन, मनन, नयाँ–नयाँ प्रयोग, अनेक नयाँ वस्तुको आविष्कार, करूणा, दया, क्षमा, परोपकार, ठूला–ठूला राज्य र राष्टूको निर्माण, व्यवस्थापन, वैज्ञानिक आविष्कार र नौलो अनुसन्धान गर्ने क्षमता छ ।
यस्ता गुण, विशेषता र क्षमता संसार भरका सम्पूर्ण प्राणी मध्ये मानिसमा मात्र पाइन्छ । त्यसैले मानिसलाई जीव श्रेष्ठ प्राणी पनि भनिन्छ ।
माया, सम्वेदना, अनुभव, हार्दिकता, बीरता, उद्यमशीलता, सिर्जनशीलता, करूणा जस्ता प्राकृतिक गुणहरू केही अरू प्राणीमा पनि पाइन्छ । विशेषतः स्त्रीलिङ्गीले आफ्ना सन्तानलाई माया गर्छन् ।
तातो चिसो र मृत्युको सम्वेदना र भोकको अनुभव सबै पं्राणीमा हुन्छ । आफ्नो जोडी या बच्चाबच्ची मर्दा या बिरामी पर्दाको सम्वेदना र करूणा धेरै प्राणीहरूमा प्रकट भएको पाइन्छ । साढेँ, सिंह आदिमा युद्धको वीरता देखिन्छ । चराचुरूङ्गी मुसा, धमिरा जस्ता कतिपय प्राणीहरूमा आफ्नो बासस्थान बनाउने सिर्जनशीलता देखिन्छ ।
माहुरीमा मह उत्पादन गरी त्यसलाई सञ्चय गर्ने, कलात्मक चाका बनाउने उद्यमशीलता पाइन्छ । यस्ता गुण उनीहरूमा जैविक प्रवृत्तिका रूपमा आएका देखिन्छन् ।
मानव इतर प्राणीहरू सँधै एकैखालका काममात्र दोहो¥याइ रहन्छन् तर कुनै नयाँ सोच, प्रयोग, आविष्कारको प्रवृत्ति र क्षमता प्रस्तुत गर्न सक्दैनन् । बुद्धि, विवेक, विद्वता, अध्ययन, चिन्तन, मनन, नयाँ–नयाँ प्रयोग, कला साहित्यको नयाँ–नयाँ सिर्जना, भवन, सडक र पुलहरूको निर्माण, राज्य सञ्चालन, राष्ट्रको व्यवस्थापन, जटिलतम संयन्त्रको आविष्कार र विश्व ब्रम्हण्डको खोज जस्ता कुरा मानिसका चिन्तन, मनन, सिर्जनशीलता, उद्यमशीलताका उपज हुन् । यिनै विशिष्ठता र निरन्तर नवीनताको खोज, आविष्कार र प्रगति गर्ने क्षमताले नै मानिस विश्वको सर्वश्रेष्ठ प्राणी ठहरिएको हो ।
प्रकृतिले सिर्जना गरेका विश्वमा सबै प्राणीहरूका लागि चाहिने वस्तुहरू प्राप्त गर्न सकिन्छ तर ती वस्तुहरू सहजै पाइने नभई जटिल र ठूलो प्रयत्नबाट मात्र प्राप्त गर्न सकिन्छ । संसारमा जे जति जटिल पक्ष छन् ती सबैलाई सरल र सहज तुल्याउने क्षमता मानिसमा मात्र पाइन्छ । त्यसैले मानिस विश्वको सर्वश्रेष्ठ प्राणी हो । मानवीयमूल्य भित्र विश्व मानव समुदायका लागि अपरिहार्य विशिष्ट र साझा मानक वा आदर्श मूल्यहरु पर्दछन् ।
यस्ता मूल्यहरुलाई व्यक्तिका नैसर्गिक अथवा प्राकृतिक मूल्य भनिन्छ । यी मूल्यहरु मात्रात्मक तथा गुणात्मक भिन्नताका आधारमा हरेक व्यक्तिभित्र विद्यमान रहेका हुन्छन् । मानवीय जीवन जगतको पूर्णतालाई फलिभूत बनाउन व्यक्तिले आफ्नो जीवनमा अनेक प्रकारका व्यवहार क्रियाकलाप र कर्तव्यको पालना गर्नुपर्छ । जीवनको मार्गमा सबैका लागि आवश्यक मूल्य भन्नु नै मानव जीवनको अस्तित्व वा सार्थकता हो ।
जीवनलाई सार्थक बनाउन हरेक व्यक्तिले समाज अथवा विश्व समुदायबाट आदर्श मूल्यबोध गरिरहेको हुन्छ । त्यसैबाट समाजका हरेक व्यक्तिले आपूmलाई मानव बनाउन प्रयत्न गर्दछ । मानिसले समाज प्रदत्त साझा मानकहरुबाट आफ्नो बुद्धि चैतन्यको विकास गर्दै गुण, कर्म र स्वभावको आर्जन गर्दछ । मानव स्वभाव र प्रवृत्ति अनुसार उसले केही विशिष्ट मानवीय गुणहरु आर्जन गर्दछ । आपूmसँग रहेको जैविक तथा प्राकृतिक गुणहरुको अवलोकन गर्दछ र पूर्ण मानव बन्न चाहन्छ ।
यसरी मानिसलाई पूर्ण मानवमा संस्थापित गर्ने मानवीय गुणहरुमा १, प्रेम २, सद्भाव ३, सत्यता ४, निष्ठा ५, बलिदानी भावना ६, दया ७, कर्तव्यबोध ८, पुरुषार्थ ९, वीरता १०, पराक्रम ११, विद्वता १२, मिष्ठवाणी १३, प्रसन्नता १४, विश्वबन्धुत्वको भावना १५, न्याय १६, विवेक आदि पर्दछन् यी १६ कलाले युक्त मानिसलाई नै मानव भनिएको छ ।
सबै मानिसमा सबै कलाहरु हुँदैनन् । यिनै कलाहरुको असमान योगबाट मानवीयमूल्यको निर्धारण हुन्छ तर कला हुनु मात्र मानव मूल्यको मापन होइन यो त कलाको समुचित प्रयोगमा निर्भर रहन्छ । कला जीवनका आभुषण हुन् यिनले मानवलाई सुन्दर बनाउँछन् । सुन्दर हुनु नै सार्थक हुनु हो ।
१. प्रेम
प्रेम मानवको जैविक, नैसर्गिक, प्राकृतिक र सामाजिक गुण वा कला हो । यो सर्वदेशिक,÷देशिक सर्वकालीक र सर्ववादित हुन्छ । प्रेमका ३ भेद हुन्छन् ः १, भक्ति २, वात्सल्य ३, आत्मिक । भक्ति आपूmभन्दा ठूलालाई दर्शाउने सम्मान वा आदरभावयुक्त प्रेम हो । यस्तो प्रेम माता, पिता, गुरु र अन्य मान्यजनहरु सँग गरिन्छ । वात्सल्य, प्रेमको महासागर हो ।
यहाँ स्नेहका अनन्य स्रोतहरु प्रकृति सञ्चालनका सूत्र भएर आएका हुन्छन् । यो सम्पूर्ण प्राणी मात्रका लागि शाश्वत सत्य बनेर आएको वात्सल्य सम्बन्ध हो । यस्तो प्रेम आमाले बच्चालाई प्राकृतिक नियमअनुसार चराले बचरालाई माउले बच्चालाई ठूलाले सानालाई दर्शाउँछन् । आत्मिक प्रेमले संसारका सबै मानवजाति सँग आत्मिक सम्बन्ध रहेको बोध गराउँछ । यसैबाट प्रेमी प्रेमीका बीच रहेको शीलगत, भावगत र आत्मगत प्रेमको बोध पनि गराइन्छ । प्रेम मानवीय गुणहरु मध्ये सर्वश्रेष्ठ गुण अथवा कला हो ।
२. सद्भाव
मानिसले परिवार, समाज, समुदायसँग सद्भावपूर्ण व्यवहार गर्नुपर्छ । यो मानवकलाको उच्चतम आधार हो । सद्भावपूर्ण व्यवहारलाई मूल्य मापक तत्वका रुपमा लिइन्छ । यो अव्यक्त, अदृश्य, प्रेमको व्यवहारिक प्रस्तुति हो । मानिसले मानव हुन मानवीय सद्गुणहरुलाई सद्भावना पूर्वक व्यवहारमा ल्याउनु पर्दछ अनि मात्र मानव मूल्यबोधको अवस्था प्राप्त हुन सक्छ ।
३. सत्यता
सबै प्राणीहरुमा श्रेष्ठतम मानिने मानवको व्यवहार नै मानवीय मूल्यको कसी हो । सत्यले समाज, संस्कृति, मानवता र राष्टिूयताको संरक्षण, सम्बर्धन, र समुन्नयन गर्छ र प्रत्येक मानव जीवन र व्यवहारमा शुद्धता ल्याई समाजलाई समुन्नत तथा सु–सँस्कृत बनाउन सहयोग पु¥याउँछ । मानवीय कलाहरुमा यो उत्कृष्ट कला वा गुण हो । यो कला सबैमा एकैनासले विद्यमान रहेको हुँदैन । सत्यासत्यको कसीबाट मानव व्यवहारको मूल्याङ्कन गर्दा सत्यले मानवीयमूल्यबोधको दिशा निर्देशित गरेको देखिन्छ ।
४. निष्ठा
निष्ठा मानवीय व्यवहारको अर्को महत्वपूर्ण पक्ष हो । मानिसले जीवन सञ्चालन, समाज सञ्चालन, समुदाय सञ्चालन, देश सञ्चालन र विश्व सञ्चालनको क्रममा आफ्नो सैद्धान्तिक प्रतिवद्धता र निष्ठालाई कहिल्यै छोड्नु हुँदैन । त्यही निष्ठावान हुने र नहुनेका आधारमा व्यक्तिको मूल्य निर्धारण गरिन्छ ।
५. बलिदानी भावना
यो व्यक्तिसँग हुने उच्च भावनात्मक सम्बन्ध हो । अन्याय, अत्याचार, शोषण र उत्पीडनबाट आपूm र आफ्नो समुदायलाई मुक्त गराउन व्यक्तिको हृदयभित्र रहेको उच्च मनोबलबाट प्रोत्साहित विचार नै बलिदानी भावना हो ।
त्यो त्याग, उत्सर्ग वलिदान जस्ता त्रिकोणात्मक भावनाको योग हो । मानव व्यवहारमा यसको महत्वपूर्ण भूमिका रहेको हुन्छ । व्यक्तिले आफ्नो त्याग, उत्सर्ग र बलिदान पूर्ण भावनालाई व्यवहारमा कसरी रुपान्तरित गरेको छ त्यसकै आधारमा उसको मूल्य निर्धारण हुन्छ ।
६. दया
दया मानवीय जीवन जगत्को यस्तो प्रकाश हो जो अरुलाई उज्यालो दिन आपूm जलिरहेको हुन्छ । दया मानवको श्रेष्ठातिश्रेष्ठ स्वभाव, कला वा गुण हो । यो मानव हृदय भित्र रहने अव्यक्त गुण हो जो सबै व्यक्तिमा धेर थोर रहेको हुन्छ किनभने यो मानवीय गुण हो । दयाको मात्रात्मक प्रयोगबाट मानवीयमूल्य निर्धारणको आधार तयार गर्न सकिन्छ ।
७. कर्तव्यबोध
हरेक व्यक्तिले समाजमा रहँदा आफ्नो पारिवारिक, सामाजिक, साँस्कृतिक, राजनैतिक, आर्थिक, राष्टिूय वा अन्तर्राष्ट्रिय मानव समुदाय सम्बन्धी कर्तव्यहरुको पालना गर्नुपर्छ । आफ्नो कर्तव्य कति हो भन्ने थाहा नपाउँदा व्यक्तिले कर्तव्य पथबाट वञ्चित हुनु परिरहेको छ । तसर्थ व्यक्ति सदैव सचेत भएर आफ्नो कर्तव्यबोध गर्ने तर्फ लाग्नु पर्दछ ।
कर्तव्यहरु, व्यक्तिका, मान, प्रतिष्ठा, दर्जा, जिम्मेवारीका आधारमा भिन्न भिन्न वा धेर थोर हुने गर्दछन् तर कर्तव्य चाहिँ सबैले पालना गर्नुपर्ने हुन्छ । अधिकारको खोजी गर्नेहरुले पनि कर्तव्यको पालना चाहिँ गर्नै पर्छ । त्यसैले सही कर्तव्यको बोध हुनु मानवमूल्यको सोपान हो भन्ने ठानिएको छ ।
८. पुरूषार्थ
मानव जीवनका उद्देश्य प्राप्तिको उत्कृष्ट माध्यम भनेको पुरुषार्थ हो । मानव हुनुको अर्थ नै पुरुषार्थ प्राप्ति हो । पुरुषार्थ प्राप्तिका चार चरणहरुमा धर्म, अर्थ, काम र मोक्ष पर्न आउँछन् । धर्म भनेको आपूmले गर्नैपर्ने काम हो । अर्थको अर्थ मानव अस्तित्व र मूल्यसँग जोडिएको हुन्छ भने काम को अर्थ निःस्वार्थता पूर्वक गरिएका सबै मानव क्रियाकलाप, (मानव सेवा र जीवन चक्रका क्रमहरु) हुन् ।
मोक्षको अर्थ चाहिँ सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक र राजनैतिक शोषण, दमन र उत्पीडनबाट आपूm र आफ्नो समाज, समुदाय र राष्टूलाई फुक्का गराउनु वा मुक्ति दिनु हो । पुरूषार्थ मानवीयमूल्यमापक उत्कृष्ट मापदण्ड हो । यसले मानव हुनुको सार्थकतालाई व्यवहारबाट दर्शाएको हुन्छ ।
९. वीरता
यो मानवको वीरत्वपूर्ण भावनाको व्यवहारिक प्रस्तुति हो । वीरतापूर्ण भावनाले मानिसका उत्साहलाई उजागर गरी सदैव नयाँ नयाँ सिर्जनशीलता तर्फ उन्मुख गराउँछ । व्यवहार गुण र कर्मका आधारमा युद्धवीर दयवीर, दानवीर र क्रिडावीर गरी वीरतालाई वर्गीकरण गरिएको छ । वीर हुनु या हुने इच्छा राख्नु मानवीय गुण र स्वभाव पनि हो । त्यसैले मानवको मूल्य निर्धारण विधिले वीरत्वको माग गरेको देखिन्छ ।
१०.पराक्रम
यो मानिसको पुरूषत्वसँग जोडिएको विशेष गुण हो । मानिस समाजमा रहँदा उसले आपूmलाई वा आफ्नो अस्तित्वलाई स्थापित गर्न आफ्नो मान, सम्मान र प्रतिष्ठा कायम गर्न केही न केही पराक्रम गर्छ । जसबाट मानिसले आत्मसम्मान वा आत्मगौरव प्राप्त गर्न सक्छ । समाजमा आपूm संस्थापित हुन सक्छ । समाजमा स्थापित हुने र नहुने, पुरूषार्थ गर्ने र नगर्नेका आधारमा समाजले व्यक्तिको मूल्य निर्धारण गर्ने हुँदा पराक्रम मूल्य मापक वस्तु हो ।
११. ज्ञान
ज्ञान मनुष्यका जीवनको सर्वोत्कृष्ट उज्यालो पक्ष हो । ज्ञान बिना मनुष्य जीवन सार्थक हुँदैन । जीवनमा सत्या–सत्य, विवेकार–विवेक, न्याय, धर्म संस्कार, रीति सँस्कृति, कर्तव्य, अधिकार आदिको ज्ञान नहुँदा जीवन अन्धकारमय हुन्छ । यस्तो अवस्थामा मानवका धर्म, कर्म कर्तव्य र अधिकार छायाँमा पर्न जान्छन् । तसर्थ ज्ञान मानवमूल्य बोधका अवयवहरु भन्दा श्रेष्ठ तथा विशिष्ट तत्व हो ।
१२. मिष्ठवाणी
वाणी मानव जीवनको उत्तम आभूषण हो । संसारका सबै कला साहित्य ः वाद तथा प्रणाली र सँस्कृतिको क्षेत्रमा वाणीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । वाणीको सुन्दर्य, माधुर्यमय र सत्य प्रयोगले संसारलाई बसमा राख्न सक्दछ । वाणीका सम्बन्धमा विभिन्न शास्त्रहरुले त्यसको महत्व र प्रयोजनको व्याख्या गरेका छन् ।
उदाहरण
चत्वारि वाक् परिमिता पदानि
तानि विदुब्र्राह्मणा ये मनीषिण
गुहात्रीणी निहिता नेङ्गयन्ति
तुरीयं वाचो मनुष्या वदन्ति ।। ऋग्वेद २÷३÷२२यस सूत्रको व्याख्या अनुसार “चत्वारि” अर्थात वाणीका चार अवस्थाको चर्चा गरिएको पाइन्छ । ती चार अवस्थाहरुमा परा, पश्चन्ती, मध्यम र वैखरी हुन् । यी वाणीका यस्ता अवस्था हुन् जहाँ अव्यक्त र सूक्ष्म वाक् व्यक्त र स्थूल हुन तयार भइरहेका हुन्छन् अर्थात मूलाधार (परा) नाभिदेशक (पश्यन्ती) हृदय देशक (मध्यमा) भएको अवस्था हो यसमा अनेक शब्द र वाक्य तथा अनेक भाव र तरङ्गहरु मनमा आइपुगेका हुन्छन् तर भाषिक रुपमा बाहिर आइसकेका चाहिँ हुँदैनन् ।
वैखरी
वाणीको चतुर्थ अवस्था अर्थात अन्तिम अवस्था हो । यो कण्ठ स्थानी ध्वन्यात्मक अवस्थामा आइपुगेको वाणी हो । यो ध्वनिरूप श्रुतिरूप वैयाकरणीक शब्दरूप र वाक्यरूपमा आएर मानव वाक्अवयवहरुद्वारा निश्रित हुन्छ ।
भाषाको पूर्ण तथा स्थूल रूप नै वैखरी वाणी हो । यस्तो वाणी शुद्ध, परिस्कृत, परिमार्जित माधुर्य र सार्थक हुनुपर्छ भन्ने सम्बन्धमा विश्वका सबै विद्वानहरूको मत ऐक्यता पाइन्छ । वाणीद्वारा नै समग्र मानव व्यवहार सञ्चालन हुने हुँदा मानवीयमूल्य निर्धारणमा वाणीको विशिष्ट भूमिका रहेको देखिन्छ ।
१३. प्रसन्नता
प्रशान्तचित्त रहेपछि मात्र मनुष्य खुसी रहन सक्छ । मृगतृष्णा कम हुनु, ईश्या भाव कम हुनु, आफ्नो काम प्रति सन्तुष्टी रहनु, शुद्व व्यवहार गर्नु, र क्रुरता, क्षुद्रता, अहमता तथा आडम्बरीपनबाट आपूmलाई मुक्त गराउनु, र मानव जीवनको निःसारताबाट आपूmलाई छुटाउन सक्नुले मात्र मानिसका अनुहारमा कान्ति सिर्जना गर्न सक्छ । अनि उसको जीवनमा प्रसन्नताको स्थिति सिर्जना हुन्छ । त्यसैले प्रसन्नतालाई मानवमा हुनुपर्ने उत्कृष्ट गुण मानिएको हो । यो मानव मूल्यबोधको ठूलो उपकरण पनि हो । किनभने यसबाट मानिसको हृदयलाई अनुहारमा देख्न सकिन्छ र मूल्य मापन गर्न सकिन्छ ।
१४. विश्व बन्धुत्व
विश्वका सबै मानवहरूलाई एउटै सूत्रमा आबद्धगरी सबैलाई वन्धुत्वको भावनाले व्यवहार गर्ने मानवीय गुणलाई विश्वबन्धुत्व भनिन्छ यो मानवतावाद, मानवव्यवहार र मानवमूल्यको उत्कृष्ट मापदण्ड हो ।
१५. न्याय
व्यक्तिसँग भएको न्यायिक भावना कस्तो छ । त्यसको सही मापन गरी मूल्य निर्धारण गर्न सकिन्छ । न्यायिक भावना स्वतन्त्र निर्भिक र वास्तविकतामा आधारित हुन्छ । व्यक्तिले न्याय सम्पादन गर्दा उसभित्र भएको मूल्यबोधक न्यायिक गुणहरुलाई व्यवहारमा प्रदर्शित गरेको हुन्छ त्यसैबाट उसको न्यायिक मूल्य निर्धारित गर्न सकिन्छ।
१६. विवेक
विवेक मानवको मानवसँग गरिने हृदयात्मक तथा भावनात्मक सम्बन्धको प्रस्तुति हो । यो अव्यक्त भएरपनि व्यक्त तत्वका रूपमा मानव व्यवहार र सामाजिक आदर्श मूल्यहरूबाट पहिचान गर्न सकिन्छ ।
यो संसार परिवर्तनशील छ । परिवर्तनशील समय र समाजमा बाँच्न र आफ्नो अस्तित्व जोगाउनका लागि मानिसले उचित किसिमका मूल्यहरू निर्माण गरी व्यवहारमा ल्याउनुपर्छ । जुन युग र परिवेशमा जे कुराको आवश्यकता हुन्छ त्यहीबेला त्यस्ता कुराको निर्माण गरिनुपर्छ ।
एक देशीय तथा एक कालीन मानवीयमूल्य अर्को कालखण्डमा गएर सामाजिक जनजीवन भित्र प्रवेश गर्न नसक्दा मानव जीवनका लागि उपयोगी नबन्न सक्छ । त्यसैले हरेक युग र युग संवाहक समाजले प्रत्येक परिवर्तित अवस्थाको आवश्यकता परिपूर्ति गर्न चाहिने मानवीय मूल्यहरूको नवनिर्माण गर्दै जानुपर्छ ।