भइरल बनेको ‘नगरपालिका फोटो काण्ड’को वास्तविकता…
भइरल बनेको ‘नगरपालिका फोटो काण्ड’को वास्तविकता…
मंगलवार गोरखा नगरपालिकाका केही सेवाग्राही जोखिम मोल्दै झ्यालमा झुण्डिएर सेवा लिदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बन्यो । नकरात्मक टिकाटिप्पणीहरु शुरु भए । फेसवुक मार्फत धेरैले उक्त फोटो सेयर पनि गरे ।
सेयर भएका फोटोमा आलोचनात्मक कमेन्टहरु धेरै देखिन्छन् । फोटो हेरेर नगरपालिकालाई व्यंग्य गर्दै खिस्सी टिउरी गर्ने पनि उत्तिकै छन् ।
भाइरल बनेको उक्त फोटो नगरपालिकाको नक्सा पास कक्ष रहेको कार्यालयका इन्जिनियर प्रकाश ढकाल बताउछन् । मंगलवार सेवाग्राहीको चाप बढी नै भएकाले केही सेवाग्राही जवरजस्ती झ्यालमा गएको उनको भनाइ छ ।
‘कोरोना कारण केही महिना नक्सा पास र घर सम्पन्नता प्रमाणपत्र वितरणको काम रोकिएको थियो,’ उनले भने, ‘अहिले सेवा शुरु भएपछि सेवाग्राहीको चाप बढेको छ, धेरै भिड भएकाले केही सेवाग्राही जवरजस्ती आफै झ्यालमा जानुभएको रहेछ, फोटो हेरेपछि थाहा भयो ।’
कुनै पनि सेवाग्राहीलाई झ्यालबाट सेवा प्रवाह नभएको नगरपालिकाका प्रशासकिय प्रमुख दिनेशराज पन्त पनि बताउछन् । ‘उहाहरुलाइ झ्यालबाट आउनुस् भनेर भनेकै छैन, त्यता नजानस् भनेर पनि भनेकै हो’ उनले भने, ‘तर अटेर गरेर उहाहरु आफै जानुभएको हो ।’
सेवाका लागी जोखिम मोलेर झ्यालमा पुगेका सेवाग्राही मध्य एक गोरखा नगरपालिका–३ नारेश्वरकी तारा सुनार आफै जवरजस्ती झ्यालमा गएको स्वीकार गर्छिन् ।
‘सरहरुले नजानु भन्दै हुनुहुन्थ्यो, धेरै भिड भएकाले काम कहिले सकिएला भनेर पेट पोलिरहेको थियो, हेरेर भएपनि सन्तोष हुन्छ भनेर म आफै गएको हँु,’ उनले भनिन् । जवरजस्ती सेवाग्राही झ्यालमा गएपछि सो क्षेत्रमा नगरपालिकाले वार लगाउने तयारी गरेको छ ।
‘त्यहा जान नमिल्ने गरी भोली गेट जस्तो बार हाल्छौ,’ प्रशासकिय प्रमुख पन्तले भने ।
कोरोना जोखिमलाइ मध्यनजर गर्दै कार्यालयको मूल गेटबाटै सेवा प्रवाह भइरहेको उनको भनाइ छ ।‘सेवाग्राहीहरु फाइल लिएर अहिले कोठा कोठा चाहार्नुपर्दैन, मूल गेटमै हामीले कार्यालय सहयोगी राखेका छौ, उहाहरुले फाइल सम्बन्धित ठाउँमा लाने ल्याउने गरिदिनुहुन्छ, सेवाग्राही भित्र छिर्नु नपर्ने गरी काम हुन्छ,’ उनले भने । भाइरल भएको फोटोले आफूहरुलाइ थप सचेत बनाएको उनले बताए ।