ब्यूटी पार्लर व्यवसायी र नाई भन्छन्ः सरकारले भेदभाव ग¥यो
ब्यूटी पार्लर व्यवसायी र नाई भन्छन्ः सरकारले भेदभाव ग¥यो
फाइल तस्बिर
कोरोना रोकथाम तथा नियन्त्रणका लागी सरकारले गरेको लक डाउन हटिसक्यो । सार्वजनिक यातायात सँगै व्यापार व्यवसाय, उद्योग कलकारखानाहरु खुलिसके । तर ब्यूटी पार्लर, सैलुन लगायतका केही व्यवसाय संचालनमा सरकारले अझै रोक लगाएको छ ।
आफूहरुलाई सरकारले भेदभाव गरेको भन्दै जिल्लाका ब्यूटी पार्लर व्यवसायी र नाईहरुले असन्तुष्टी जनाएका छन् । ‘यातायात, पसल लगायतका सवै व्यवसाय संचालनमा आइसक्यो, हामीलाइ भने अझै पसल खोल्न दिएको छैन,’ सौन्दर्यकला व्यवसायी संघकी जिल्ला अध्यक्ष सुकु श्रेष्ठले भनिन्, ‘कोरोना व्यूटी पार्लरबाट मात्र सर्ने हो र ?’ लामो समय बन्द हुदाँ पसलका सामानहरु बिग्रिएको उनले बताइन् ।
‘पसलको ¥याक कुहिएको छ, सामानहरु ढुसी लागेर बिग्रिएका छन्, फेरी घरवेटीले भाडा मागेर हैरान गर्छन्, पसल बन्द छ भाडा तिर्ने पैसा कहाँ बाट ल्याउने ?,’ उनले प्रश्न गरिन् । कोठा भाडा तिर्न नसकेपछि कतिपय व्यवसायीले पसलको सामान घरमा लगेर राखेका छन् ।
‘ऋण गरेर व्यवसाय संचालन गरेको, बैकको किस्ता तिर्नुपर्छ, फेरी घरभाडा पनि बुझाउनै प¥यो, यता ६ महिना देखि पसल खोल्न पाएको छैन, आउने बाटो त्यही हो, अव त्यही पनि बन्द भएपछि बैकको किस्ता, घरभाडा कसरी तिर्ने, समस्या छ,’ ब्यूटी पार्लर व्यवसायी सपना श्रेष्ठले भनिन् । भाडा तिर्न नसकेपछि पसलको सामान घरमा लगेर राखेको उनले बताइन् ।
सैलुन खोलेर बसेका नाईहरुको पीडा पनि उस्तै छ । व्यवसाय ठप्प हुदाँ विहान वेलुकीको छाक टार्न समेत समस्या भएको उनीहरुले गुनासो गरेका छन् ।
‘घरवेटी भाडा मागेछ, पैसा नभएर उधारो रासन ल्याएका छौ, अव पनि पसल खुलेन भने बिहान वेलुकी खान पनि सकिदैन,’ नेपाल नाई संघका जिल्ला अध्यक्ष जय प्रकाश ठाकुर भन्छन् । परिवार सहित बसेकाहरुलाइ थप समस्या भएको उनले बताए । पसल संचालन गर्न पाउनुपर्ने माग राख्दै ब्यूटी पार्लर व्यवसायी र नाईहरुले प्रशासनलाइ ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय संचालन गर्न दिनुपर्ने उनीहरुको माग छ । घरभाडा र करमा छुट दिन पनि उनीहरुले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले केन्द्रको निर्देशन विना पसल खोल्न दिन नसकिने बताए । ‘हाम्रो वैठकले मात्र निर्णय गर्न मिल्दैन, अव माथिबाट पनि केही निर्णय चाडै आउला,’ उनले भने ।